शीर्षकहरू

प्रतिपक्षमा जुन पार्टी भए पनि सहकारी ठगीको मुद्दा यसरी नै उठ्थ्योः महामन्त्री

प्रतिपक्षमा जुन पार्टी भए पनि सहकारी ठगीको मुद्दा यसरी नै उठ्थ्योः महामन्त्री

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अहिले प्रमुख प्रतिपक्षीको भूमिकामा जुन पार्टी भए पनि सहकारी ठगीको मुद्दा यसरी नै उठ्ने बताएका छन् । नेपाल प्रेस युनियनको ३३औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित ‘लोकतन्त्रमा सञ्चार माध्यमको महत्व’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सहकारीका नाममा धेरै नागरिक पीडित बनेकाले तिनलाई न्याय दिन पनि सहकारीको मुद्दालाई टुङ्गोमा पुर्याइने प्रतिबद्धता जनाएका हुन् । 

“यदि अहिले कांग्रेसको ठाउँमा अरु जुनसुकै पार्टी भए पनि यो विषय उठ्थ्यो । त्यसैले सहकारीको रकम अपचलनका विषयमा छानबिन गर्न कांग्रेसले भनेजस्तै समिति बन्छ, सहकारीबाट पीडित भएकाले न्याय पाउँछन्, सहकारीका नाममा ठगी गर्नेलाई कानुनअनुसार कारबाही हुन्छ, यसका लागि आजदेखि कांग्रेस सडक सङ्घर्षमा उत्रिएको छ”,महामन्त्री थापाले भने । 
 
प्रजातन्त्रको आवरणमा चरम अनुदारवादी शासन गर्न थालिएकाले सार्वजनिक संस्थाको विश्वासमा ह्रास आएको उनको भनाइ थियो । सरकारी संस्था र प्रेसजगत्प्रतिको विश्वासमा पनि ह्रास आउन थालेकाले यसप्रति सबै सजग हुनुपर्नेमा महामन्त्री थापाको जोड थियो ।