काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक तर्फको शेयर सर्वसाधारणमा परिवर्तन गर्न नचाहने सदस्यहरूले लिखित निवेदन दिन आग्रह गरेको छ । कम्पनीले संस्थापक तर्फको १० प्रतिशत शेयर सर्वसाधारणमा परिणत गर्ने निर्णय गत वैशाख १४ गते बसेको सञ्चालक समितिको बैठकबाट गरिसकेको छ ।
जेठ ९ गते सूचना जारी गर्दै यदि आफ्नो स्वामित्वको शेयर सर्वसाधारणमा परिणत गर्न नचाहेमा आगामी २१ दिनभित्र लिखित आवेदन पेश गर्न भनेको हो । कम्पनीले संस्थापक तर्फको ७० प्रतिशतलाई ६० प्रतिशत र सर्वसाधारण तर्फको ३० प्रतिशतलाई ४० प्रतिशत कायम गर्ने निर्णय गरेको हो ।
यसअघि संस्थापक तचर्फ ५० लाख ५० हजार १४४ दशमलव शून्य ४ कित्ता र सर्वसाधारणतर्फ २१ लाख ६४ हजार ३४७ दशमलव ४४ कित्ता शेयर कायम थियो । शेयर संरचनापछि संस्थापक तर्फ ४३ लाख २८ हजार ६९५ कित्ता र सर्वसाधारणतर्फ २८ लाख ८५ हजार ७९६ दशमलव ४४ कित्ता कायम भएको छ ।
शेयर संरचना परिवर्तनका लागि गरिएको प्रस्ताव नेपाल राष्ट्र बैंक समक्ष पूर्व स्वीकृतिका लागि पेश गर्ने निर्णय पनि कम्पनीले गरेको छ ।