काठमाडौँ । स्वर्णलक्ष्मी सहकारी ठगीका अभियुक्त पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौँले आदेश दिएको छ । बुधबारको थुनछेक बहसपछि न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको हो ।
लामिछाने यसअघि पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गएको बिहीबार ६५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए ।
गत कात्तिक २ गते पक्राउ परेका रवि जिल्ला अदालत कास्कीको आदेशपछि धरौटी बुझाएर रिहा भएपछि आइतबार आफैँ जिल्ला अदालत काठमाडौँमा उपस्थित भएका थिए । न्यायाधीश अधिकारीको इजलासमा आइतबार बयान सकिए पनि थुनछेक बहस सुरु नभएकाले उनलाई प्रहरी हिरासतमा पठाइएको थियो ।