शीर्षकहरू

महाकुम्भ मेला : एक करोड ३८ लाख त्रिवेणी संगममा गरे स्नान, ३८ करोड पुग्ने दाबी

महाकुम्भ मेला : एक करोड ३८ लाख त्रिवेणी संगममा गरे स्नान, ३८ करोड पुग्ने दाबी

नयाँदिल्ली । भारतमा महाकुम्भ सुरु भएको छ । महाकुम्भ २०२५ को पहिलो ‘अमृत स्नान’ को अवसरमा मङ्गलबार बिहान १०ः३० बजेसम्म एक करोड ३८ लाख श्रद्धालुले यहाँ सङ्गममा पवित्र स्नान गरेको अधिकारीहरूले बताएका छन् ।

विश्वकै सबैभन्दा ठूलो जमघटको पहिलो दिनमा एक करोड ५० लाखभन्दा बढी तीर्थयात्रीले सङ्गममा पवित्र स्नान गरेका थिए । यसैबीच उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ मङ्गलबार पहिलो ‘अमृत स्नान’ मा सहभागी भएका थिए ।​​​​​​​ एक्समा मुख्यमन्त्री योगीले यस पवित्र कार्यक्रमलाई भारतको सनातन संस्कृति र आस्थाको जीवन्त प्रमाण भएको बताए । “यो हाम्रो सनातन संस्कृति र आस्थाको जीवन्त रूप हो । आज लोक आस्थाको महान् पर्व ‘मकर सङ्क्रान्ति’ को शुभ अवसरमा महाकुम्भ–२०२५, प्रयागराजको त्रिवेणी सङ्गममा पहिलो ‘अमृत स्नान’ गरी पुण्य कमाउने सबै श्रद्धालुलाई बधाई,” उनले भनेका छन् ।

सनातन धर्मका १३ अखाडाका साधुहरूले त्रिवेणी सङ्गममा पवित्र स्नान गरिरहेका छन् ।

आफ्नो तेस्रो कुम्भ मेलामा सहभागी हुँदै एक विदेशी श्रद्धालुले भने, “म यसलाई शब्दमा वर्णन गर्न सक्दिनँ । यो मेरो तेस्रो कुम्भ हो । म सन् २०१० मा हरिद्वार, २०१३ मा प्रयागराज र अहिले फेरि यहाँ आएँ । यहाँ सबै उन्माद छ तर त्यसभित्र केही यस्तो छ जो परिवर्तन हुँदैन।।। सौभाग्यवश, यहाँ भीड नियन्त्रण गर्न धेरै प्रहरी कर्मचारी छन्।।। यहाँ तपाईं केवल प्रवाहसँगै बग्न सिक्नुहुन्छ ।”

महानिर्वाण अखाडाका महामण्डलेश्वर स्वामी चिदम्बरानन्दले कुम्भलाई भारतीय सभ्यताको भव्यताको अनुभव गरेको बताए । “हामी भारतीय सभ्यताको भव्यता अनुभव गर्छौं । करोडौँ मानिसले हाम्रो संस्कृतिको गौरव देखिरहेका छन् । चारैतिर खुशी र उत्साह छ । मानिसहरू जाडो बिर्सेर बिहान २ बजेदेखि नै सन्तहरूको दर्शनका लागि पर्खिरहेका छन्”, उनले भने, “यहाँ अविश्वसनीय दृश्यहरू छन् । जसले जातीय विभेद सिर्जना गर्छन् र हाम्रो धर्मलाई दोष दिन्छन्, उनीहरू यहाँ आएर हेरून् कि करोडौँको भीडमा न त कुनै ब्राह्मण छन् न शूद्र, केवल हिन्दू र हिन्दू संस्कृति मात्र छ ।”

महाकुम्भ केवल भारतको मात्र नभइ सम्पूर्ण विश्वका लागि अवसर भएको एक भक्तजनले बताए ।