शीर्षकहरू

छिमेक लघुवित्तको ७ प्रतिशत नगद लाभांश वितरण गर्न सुरु

छिमेक लघुवित्तको ७ प्रतिशत नगद लाभांश वितरण गर्न सुरु

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ १ गते मंगलबारदेखि नगद लाभांश वितरण गर्न सुरु गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ७ प्रतिशत कर समेत नगद लाभांश वितरण गर्ने प्रस्ताव पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित गरेसँगै सम्बन्धित शेयरधनीहरुको बैंक खातामा जम्मा गर्न सुरु गरेको हो ।

नगद लाभांश शेयरधनीहरुको हितग्राही खातामा उल्लेख बैंक खातामा नै जम्मा गरिने भएकाले हालसम्म आफ्नो बैंक खाता नम्बर हितग्राही खातामा अद्यावधिक नगराएकाहरुलाई यथासिघ्र गराउन समेत कम्पनीले आग्रह गरेको छ । कम्पनीले साधारण सभा र लाभांश प्रयोजनका लागि पुस १६ गते एक दिन बुक क्लोज गरेको थियो ।

पुस १५ गते सार्वजनिक विदा परेकाले पुस १४ गतेसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको नगद लाभांश प्राप्त गरेका हुन । पुस १४ गतेसम्म आफ्नो शेयर बन्धक राखी कर्जा उपयोग गरेका सदस्यहरुको हकमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाकै नाममा रोक्का राखिएकाले कर्जा फुकुवा भैसकेको भए जानकारी गराउन समेत कम्पनीले भनेको छ । यस वर्ष कम्पनीले नगद लाभांशसँगै ८ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव समेत पुस २९ गते सम्पन वार्षिक साधारण सभाबाटै पारित गरेको छ ।

बोनस शेयर भने धितोपत्र दोस्रो बजारमा सूचीकृत भएपछि मात्र वितरण हुनेछ । कम्पनीको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।