काठमाडौँ । स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दाका अभियुक्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको थुनछेक बहस लम्बिएपछि पुन: न्यायिक हिरासतमै फर्काइएको छ ।
पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा गत कात्तिक २ गते पक्राउ परेका उनलाई गत बिहीबार कास्की जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएको थियो । उक्त आदेशपछि धरौटी बुझाएर छुटेका उनी आइतबार आफैँ जिल्ला अदालत काठमाडौँमा उपस्थित भएका थिए । उनीविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।
थुनछेक बहस नसकिएपछि उनलाई आइतबार न्यायिक हिरासतमा पठाइएको थियो । सोमबार पनि बहस लम्बिएपछि रवि पक्षका अधिवक्ताले बहस लम्बिए पनि हिरासतमा पठाउन नहुने माग गरेका थिए । त्यसको जवाफमा न्यायाधीश माधवप्रसाद अधिकारीले अदालतबाट पक्राउ पुर्जी जारी भएका व्यक्तिलाई आफै उपस्थित हुने छुट नभएको बताउँदै कानुनी प्रक्रियामै गडबड भएको बताएका हुन् ।
उनले भने, 'कास्की जिल्ला अदालतको आदेशपछि प्रहरीले काठमाडौँ प्रहरीको जिम्मा लगाउनुपर्ने थियो । कानुनी प्रक्रियामै गडबडी गरियो । पक्राउ पुर्जी जारी भएका व्यक्तिलाई आफैँ उपस्थित हुने छुट दिनु नै गलत भयो ।’