काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आ.व. २०८०/८१ को आफ्नो तेह्रौ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । कम्पनीले आफ्नो साधारण सभा पुस २८ गते काठमाडौंमा सम्पन्न गरेको हो । १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश गरि २० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । यस पश्चात एनसीएचएलको चुत्ता पुँजी १,२६,८२,७०,९०० रुपैयाँ बराबरको भएको छ साथै बैठकले अधिकृत पूँजी वृद्धि गरी २.२५ अर्ब रुपैयाँ पु¥याउन स्वीकृत गरेको छ ।
बैठकले लेखापरीक्षण प्रतिवेदन सहितको २०८१ आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद–प्रवाह विवरण स्वीकृत गर्नुका साथै कम्पनीले पूँजी वृद्धी मार्फत नेशनल पेमेन्ट स्वीच, नेशनल तथा क्रस बोर्डर कारोबारका लागि थप भुक्तानी प्रणाली विकास गर्ने निर्णय गरेको छ । त्यस्तै, जोखिम व्यवस्थापनलाई सुढृढ बनाउने र सञ्चालनमा रहेका पूर्वाधारहरुको स्तरोन्नतीका लागि प्रयोग गर्नेछ ।
आ.व. २०८०÷८१ म कम्पनीबाट फर्छौट भएका कारोबारहरुको संख्या ५४ प्रतिशतले वृद्धि भएसँगै कम्पनीको खुद नाफा ६.२ प्रतिशतले वृद्धि भएको कम्पनीले जनाएको छ । उक्त आर्थिक वर्षमा एनसीएचएलको भुक्तानी प्रणालीहरु मार्फत कुल १५६ खर्ब रुपैयाँ बराबरको १२.६ करोड रुपैयाँ भुक्तानी कारोबारहरु राफसाफ भएको थियो ।
बैठकले कम्पनीको सञ्चालक समितिमा तीन जना सञ्चालकहरु निर्विरोध रुपमा पुनः निर्वाचित गरेको छ । बाणिज्य बैंकहरुबाट प्रतिनिधित्व गर्दै एनसीएचएलको सञ्चालक समितिमा हिमालयन बैंक लि.का उप–प्रमुख कार्यकारी अधिकृत उज्ज्वल राजभण्डारी, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका वरिष्ठ उप–प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल तथा सिद्धार्थ बैंक लि.का प्रमुख सूचना प्रविधि सृजन मल्ल पुनः निर्वाचित भएका छन् ।
एनसीएचएलको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकको १ जना, वाणिज्य बैंकहरुबाट ३ जना, विकास बैंकहरु, फाइनान्स कम्पनीबाट र स्वतन्त्र गरी क्रमशः १–१ जना रहेका छन् । एनसीएचएलमा नेपाल राष्ट्र बैंकको ९.४५% र बैंक तथा वित्तीय संस्थाहरुको ९०.५५ प्रतिशत स्वामित्व रहेको छ ।