शीर्षकहरू

भारतीय मालवाहक सवारीको निर्वाध अवागमन रोक्न महासंघको माग

भारतीय मालवाहक सवारीको निर्वाध अवागमन रोक्न महासंघको माग

काठमाडौँ । नेपाल  ट्रक यातायात व्यवसायी महासंघले भारतीय मालवाहक सवारीको निर्वाध अवागमन रोकी ७२ घण्टे पास खारेज गर्न माग गरेको छ । सोमबार महासंघले देशभरका राष्ट्रिय राजमार्गहरूमा अनधिकृत रुपमा कानुनी छिद्रको प्रयोग गर्दे स्वदेशी तथा विदेशी सवारी साधनले अधिक भारवहन गरी संचालन भएको भन्दै त्यसलाई रोक्न माग महासंघले गरेको महासचिव राजेन्द्र विक्रम वानियाले बताए ।

महासंघले  मालवाहक सवारी साधन भारवहन नियमन सम्बन्धि कार्यविधि २०७४ लाई कडाईका साथ कार्यान्वयन गर्दै नेपाल प्रवेश गर्ने भारतिय सवारी साधनलाई भन्सार बिन्दुमा नै नेपालको कानुनले तोकेको भारवहन भन्दा बढी माल वस्तुको जाँच पास गर्ने अधिकारीलाई जिम्मेवार बनाउन पनि माग गरेको छ ।

नेपालका जीर्ण पूल र जोखिमयुक्त सडकहरुमा स्पष्ट देखिनेगरी सडकको क्षमता र चिन्ह राख्न, ट्राफिक प्रहरी, जनपद प्रहरी र यातायात व्यवस्था कार्यालयहरुबाट मालवाहक सवारी साधनले तोकिएको भारवहन गरेका छन कि छैनन् भनी मान्यता प्राप्त तौलपुल र निकायको लोड सिट समेत चेक जाँच गर्न र अधिक भारवहन गरेको पाइएमा जरिवानासहित अधिक भरलाई अनलोड गर्न लगाइ भार मिलान गरेर मात्र अगाडि बढ्न दिनुपर्ने माग महासंघले राखेको छ ।

बढी भार बहन गरी सवारीसाधन सञ्चालनमा रहेको कारणले देशका राष्ट्रिय राजमार्ग र पुल पुलेसामा क्षति हुनुका साथै दुर्घटना समेत भएकाले त्यसलाई रोक्न महासंघले माग गरेको छ ।