काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई काठमाडौं जिल्ला अदालत ल्याइएको छ । सोमबार काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगीसम्बन्धी मुद्दामा थुनछेक बहसका निम्ति उनलाई बबरमहलस्थित जिल्ला अदालत ल्याइएको हो ।
बयानका निम्ति लामिछाने आइतबार विहान आफैँ काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका थिए । बयान सकिएपछि अदालतले न्यायिक हिरासतमा राख्न भनेको छ । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले प्रहरीको जिम्मा लगाउन आदेश दिएको हो ।
आइतबार थुनछेक बहस नभएका कारण लामिछानेलाई जिल्ला प्रहरी परिसरको हिरासतमा पठाइएको हो । पोखराबाट धरौटीमा रिहा भएका लामिछाने आइतबार हिरासतमा गएका हुन् ।
आइतबार विहान आफैं अदालनमा आएको र थुनछेक बहसका लागि परिवार र निजी वकिलहरुको जिम्मा लगाउन लामिछानेले माग गरेका थिए । तर न्यायाधीशले प्रहरीको जिम्मा लगाउन आदेश दिएका हुन् ।
थुनछेक बहसमा रविकी पत्नी निकिता पौडेल पनि उपस्थित भएकी छन् । बहसअघि उनले रविलाई रातो टीका लगाइदिएकी छन् ।