बीमाले व्यक्तिगत तथा सम्पत्ति सुरक्षा सुनिश्चित गर्दै आर्थिक स्थिरता प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्दछ । बीमालाई मुख्यतः दुई प्रकारमा विभाजित गरिएको छ : जीवन बीमा र निर्जीवन बीमा ।
मानिसको जीवनमा आउने जोखिमबाट बच्न गरिने बीमा नै जीवन बीमा हो । मानिसको जीवनमा आइपर्ने जोखिमबाट कुनै क्षति पुगे वा मृत्यु भएमा बीमाले सो बापत आर्थिक क्षतिपूर्ति दिन्छ । यसले बीमा गर्ने व्यक्तिको परिवारको भविष्य सुरक्षित गर्दछ ।
यस्तै निर्जीवन बीमा सम्पत्तिको सुरक्षा लागि महत्वपूर्ण हुन्छ । जस्तो २०७२ सालको भुइँचालोमा मानवीयसँगै ठूलो मात्रामा भौतिक क्षति भयो । हरेक वर्ष बाढी पहिरोले हामीले अनुमान गरेभन्दा बढी क्षति पुर्याउने गरेको छ । व्यापार, व्यवसाय, उद्योगधन्दा, सम्पत्तिमा विभिन्न किसिमका प्राकृतिक तथा मानवीय कारणबाट आर्थिक क्षति हुन्छ । प्राकृतिक प्रकोपलाई त हामी रोक्न नसके पनि सुरक्षित भने अवश्य हुन्छ । यी सबैबाट सुरक्षित हुने भनेको बीमा गरेर हो । निर्जीवन बीमा भनेकै सम्पत्ति तथा वस्तुमा हुने विभिन्न प्रकारको जोखिम, भवितव्य तथा दुर्घटनाबाट सिर्जित आर्थिक क्षतिको रक्षा गर्छ ।
हाल नेपालमा १४ वटा जीवन बीमा र १४ वटा नै निर्जीवन बीमा कम्पनी रहेका छन् । तिनले जीवन बीमाअन्तर्गत बीमा गर्ने व्यक्तिको मृत्यु भएमा वा बीमाको मिति समाप्त भएपछि एकमुष्ट रकम प्रदान गर्ने गरेका छन् । जसले परिवारलाई आर्थिक स्थायित्व दिन्छ ।
निर्जीवन बीमाले सम्पत्ति र सञ्चालनहरुको सुरक्षा गर्दछ । जस्तै सवारीसाधनको बीमा, सम्पत्ति बीमा, कृषि बीमा, मरिन कार्गो बीमा गर्न सकिन्छ ।
नेपाल प्रहरीको आर्थिक वर्ष २०८१/८२ को तथ्याङ अनुसार नेपालमा दैनिक ९७ वटा सडक दुर्घटना हुने गरेका छन् । ती घटनामा दैनिक औसतमा ८८ जना सडक दुर्घटनामा परी घाइते हुने गरेका छन् । सवारीसाधन बीमा गरे यस्ता जोखमबाट वित्तीय सुरक्षा लिन सकिन्छ । यसले सवारीसाधनका मालिकहरुलाई ढुक्कको महशुस गराउछ ।
गत असोजमा गएको बाढी र पहिरोले १७ अर्बभन्दा बढीको क्षति भयो । घर ढले, बस्ती बगे । अनि मुख्य चाडबाड आउछ चोरीका घटनाहरु बढ्छन् । गत दशैंको अविधभर काठमाडौं उपत्यकामा ११ वटा चोरीका घटना भए । यस्ता विपत्बाट बीमाले तपाईलाई सुरक्षित राख्छ । सम्पत्ति बीमाले आवासीय र व्यवसायिक सम्पत्तिलाई प्राकृतिक प्रकोप, चोरी वा दुर्घटनाबाट हुने क्षतिबाट सुरक्षा दिन्छ ।
नेपाल कृषि प्रधान देश हो । देश विकासको लागि कृषि क्षेत्रको विकास गर्नु अति आवश्यक हुन्छ । किसानलाई लक्षित गरि ल्याइएको कृषि बीमाले धेरै किसान सुरक्षित राखेको छ । साना र ठूला दुबै कृषकहरुको कृषि व्यवसायमा सम्भावित जोखमबाट हुन सक्ने क्षतिको रक्षाका लागि कृषि बीमा गराउनु पर्दछ । कृषि बीमा अन्तर्गत बाली बीमा, गाईवस्तु बीमा पर्दछन् । बाली बीमाले प्राकृतिक प्रकोप वा रोगहरुका कारण बाली नष्ट हुँदा किसानलाई क्षतिपूर्ति दिइन्छ भने गाइवस्तु बीमाले पशुचौपायामा लाग्ने रोग, दुर्घटना वा चोरी जस्ता जोखिमहरुबाट हुने क्षतिबाट सुरक्षित राख्छ ।
कोभिडपछि हाल अर्थतन्त्र केही लयमा फर्किएको छ । गत आर्थिक वर्ष २०८१/८२ मा १५ खर्ब ९२ अर्बको सामान आयात भयो भने १ खर्ब ५२ अर्बको निर्यात भयो । यसरी ढुवानी गर्दा सामान हराउने जोखिम धेरै हुन्छ । यसबाट बच्न मरिन कार्गो बीमा गर्न आवश्यक छ । यसले आर्थिक जोखिमहरु कम गर्दै व्यापारलाई निरन्तता दिन मद्दत गर्दछ ।