काठमाडौं । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्ले थाईल्याण्डको बैंककमा दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलन आयोजना गर्ने भएको छ । १५ –१६ मार्च २०२५ मा सम्मेलन आयोजना गरिनेछ ।
नेपाली प्रवासी युवाहरूलाई सशक्त बनाई उनीहरूलाई नेपालको समृद्धि र विकाससँग जोड्ने अन्तर्राष्ट्रिय युवा सम्मेलनको मुख्य उद्देश्य रहेको संघले जनाएको छ । सम्मेलनले नेपाली प्रवासी युवा, पिएनओज्, र नेपालका स्थानीय युवाहरू बीच मजबूत साझेदारी स्थापना गर्ने, युवामा सशक्तिकरण र नवप्रवर्तनको संस्कृतिलाई प्रेरित गर्नका लागि संघर्ष अनि सफलताका कथा र सिकाइहरूको आदान–प्रदान गर्ने साझा मञ्च प्रदान गर्ने अपेक्षा राखिएको छ। सम्मेलनको मूल समारोह समिति युवा उपाध्यक्ष रोशन थापाको संयोजकत्व तथा पिएनओज विभागका ईन्चार्ज तथा उपाध्यक्ष रामशरण सिम्खडाको निर्देशाकत्वमा तयारी अघि बढाइएको छ ।
'युवासँगै बढिरहेको मष्तिस्कपलायनले नेपालको विकास र समृद्धिमा तात्विक असर पर्ने निश्चित छ । वार्षिक रुपमा लाखौँ युवाहरु विदेश पलायन भइरहँदा देशमा सक्रिय जनसंख्या पातलिँदै गएको छ । यस्तो अवस्थामा विदेशमा रहेका युवा अनि दोस्रो पुस्ताका गैरआवासीय नेपालीलाई पनि अपनत्व महसुस गराई मातृभूमिसँग जोड्नु वर्तमान अपरिहार्यता भइसकेको छ,' विज्ञप्तिमा भनिएको छ, 'यसै सन्दर्भलाई मनन गर्दै गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्णयअनुसारदोश्रो अन्तर्राष्ट्रिय युवा सम्मेलनको आयोजना गर्न लागिएको छ ।'