शीर्षकहरू

चुकेनीको विद्युतले झिलिमिली जुम्ला, खलङ्गाको लोडसेडिङ हट्यो

चुकेनीको विद्युतले झिलिमिली जुम्ला, खलङ्गाको लोडसेडिङ हट्यो

जुम्ला । विद्युतको उज्यालो अभाव खेपिरहेको जुम्लामा पहिलो पटक एक मेगावाट विद्युत उत्पादन भएपछि गाउँ झिलिमिली भएको छ । पातारासी गाउँपालिकाको चुकेनी जलविद्युत सहकारी संस्था लिमिटेडबाट सञ्चालित योजनाको निर्माण सम्पन्न भइ संचालनमा आएपछि विद्युतको अभाव टरेको हो । 

जुम्लाको खलंङ्गगा बजारमा दैनिक १८ घण्टासम्म लोडसेडिङ हुने गरेको थियो । नेपाल विद्युत प्राधिकरण जुम्लाको घुघुतिमा रहेको पावरहाउसका मेसिनमा पटक पटक आउने समस्या र जुगाड खोलामा पानीको बहाव घट्दै जाँदा लोडसेडिङ बढ्ने गरेको थियो ।

तर अहिले चुकेनी जलविद्युत योजनाले विद्युत उत्पादन गरेपछि लोडसेडिङको मार हटेको छ । जुम्लामा विद्युत प्राधिकरणले केन्द्रीय प्रसारण लाइन पुर्‍याए पनि  भोल्टेज कम हुने समस्या हुँदा विद्युत प्रयोग माग अनुसार हुन सकेको थिएन । 

पातारासी गाउँपालिका–१ मा निर्मित एक मेगावाटको चुकेनी खोला जलविद्युत परियोजनाको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र एशियाली विकास बैंकको आर्थिक सहयोग स्थानीय तथा गाउँपालिकाको स्वलगानी र कृषि विकास वैंकको ऋण लगानी तथा संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम अन्र्तगतको ग्रामिण जिविकोपार्जनका लागि नवीकरणीय ऊर्जा कार्यक्रमको प्राविधिक सहयोगमा हालै निर्माण सम्पन्न भएकाले हाल जुम्ला बजार झिलिमिली भएको हो । 

यस परियोजनामा पातारासी गाउँपालिकाका सम्पूर्ण घरधुरीको शेयर रहेको चुकेनी जलविद्युत सहकारी संस्थाका अध्यक्ष गोरबहादुर बुढाले बताए । अध्यक्ष बुढाका अनुसार परियोजना निर्माणका लागी वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत एशियाली विकास बैंक र नेपाल सरकारको रु २८ करोड ४४ लाख ३० हजार अनुदान, रु ५ करोड नेपाल सरकारको मु.अ कर सहयोग तथा स्थानीय जनता, गाउँपालिका र प्रदेश सरकारको शेयर लागनी रु ११ करोड गरी जम्मा रु ४४ करोड ४४ लाख ३३ हजार लगानी रहेको छ । 

राष्ट्रिय प्रशारण प्रणालीको भर पर्न नसकिने विद्युत आपूर्तिले हैरान जुम्लावासी गाउँपालिकाको सिरानमा रहेको यस चुकेनी खोला साना जलविद्युत परियोजनाको  निर्माण धेरैको चासोमा थियो । परियोजनाबाट लामो प्रतिक्षापछि जुम्लाले भरपर्दो तथा गुणस्तरिय विद्युत बाल्न पाएकोमा उपभोक्ताहरु हर्षित भएको नवीकरणीय ऊर्जाका लागि जिविकोपार्जन परियोजनाका फिल्ड संयोजक पृथ्वी शाही बताउँछन् ।

गाउँपालिका भित्र सहकारी आफैले विद्युत वितरण गरेको छ भने अन्य स्थानका लागी नेपाल विद्युत प्राधिकरणलाई विद्युत बिक्री गरी सेवा पुर्याएको शाहीले जानकारी दिए । सदरमुकाम एवम् चन्दननाथ नगरपालिका वरिपरिका स्थानमा गुणस्तरीय र पर्याप्त मात्रामा विद्युत उपलब्ध भएपछि साना ठूला उद्योगहरुलाई सहज भएको छ ।

विद्युत अभावका कारण संचालनमा आउन नसकेका उपकरणहरु पनि धमाधम प्रयोगमा आउन थालेको र अन्य व्यवसायी, विद्यालय, स्वास्थ्य चौकी, सरकारी कार्यालय तथा संघ संस्था र घरधुरीहरुले विद्युतीय हिटर, एयरकन्डिसनर, कुकर, केत्ली जस्ता उपकरणहरु प्रयोग गर्न थालेको नेपाल बिद्युत प्राधिकरण जुम्ला वितरण शाखाका प्रमुख राम आशिष शाहले जानकारी दिए । 

साथै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको अक्सिजन प्लान्ट समेत सन्चालनमा आएको छ । हाल जिल्लाका प्राधिकरणको प्रणालीमा आवद्ध करिब साढे सात हजार घरधुरीले पनि सोही परियोजनाको विद्युत प्रयोग गरिरहेको विद्युत प्रधिकरण वितरण केन्द्रले जनाएको छ ।  परियोजनाले चन्दननाथ नगरपालिका भित्रका सम्पूर्ण व्यवसायीहरुलाई ठुलो टेवा पुगेको समेत नगर प्रमुख राजु सिंह कठायतले बताए ।