काठमाडौँ । गरिमा क्यापिटल लिमिटेडले आफ्नो नवौंं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । शुक्रबार काठमाडौँको बुढानीलकण्ठमा संस्थाले
आफ्नो वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।
क्यापिटलका सञ्चालक समितिका अध्यक्ष दिपक पाण्डेयको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन उपर सहभागी शेयरधनीहरुले राखेको जिज्ञासाहरुको अध्यक्ष पाण्डेय एवं प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराईज्युले स्पष्ट पारे । सभामा गरिमा विकास बैक लिमिटेड सञ्चालक समितिका अध्यक्ष, पुर्व अध्यक्षहरु, गरिमा म्युचूअल फण्ड अन्तर्गत गरिमा समृद्धि योजनाका कोष सुपरिवेक्षकहरु तथा शेयरधनीहरु महानुभावहरुको उपस्थिति रहेको थियो ।
सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८१ साल आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त आव २०८०/८१ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण स्वीकृत गर्ने, कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आव २०८१/८२ को लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने तथा कम्पनीको छैटौँ तथा आठौँ वार्षिक साधारण सभाबाट नियुक्त सञ्चालकहरुमध्ये एक (१)/एक (१) सञ्चालक पद रिक्त भएको र रिक्त पदमा सञ्चालक समितिद्वारा बाँकी कार्यकालका लागि सञ्चालकहरु नियुक्त गरेकोमा सो नियुक्ति अनुमोदन गर्ने सम्पूर्ण निर्णयहरु सर्वसम्मतले पारित गरेको थियो ।