मन्थली । रामेछाप नगरपालिकाका केही युवा वैदेशिक रोजगारी छाडेर जुनारखेतीतर्फ लागेका छन् । जुनारखेतीबाट प्रशस्त र दोहोर आम्दानी हुने भएपछि यहाँका युवा वैदेशिक रोजगारी छाडेर जुनारखेतीतर्फ आकर्षित भएका हुन् ।
जुनार बगैँचाभित्र तोरी भटमासलगायत कोसेबाली र अन्य तरकारीबाली उत्पादन गरी आम्दानी लिन सकिने तथा जुनारबाट पनि आम्दानी लिन सकिने भएकाले यसतर्फ आकर्षित भएको रामेछाप–६ ओख्रेनीका जुनार कृषक हिमाल तामाङले बताए ।
लामो समय खाडी मुलुकमा बसेर काम गरेको भन्दै लेखपढ नभएका र सीप नभएका आफू जस्तालाई त्यहाँ सजिलो काम पाउन मुस्किल हुने उनले अनुभव सुनाए ।
बर्सेनि बिरुवा थप्दै र उत्पादन वृद्धि गराउँदै जाने हो भने यहीँ विदेशको जति कमाउन सकिने उनको भनाइ छ । आफू भारतको गुजरातमा २५ वर्ष बसेर काम गरेको अनुभव सुनाउँदै त्यहाँको आम्दानी चित्त नबुझेर स्वदेशमा केही गर्ने अठोटका साथ फर्किएर जुनारखेती सुरु गरेको तामाङले बताए ।
यसअघि आफू वैदेशिक रोजगारीका क्रममा चार वर्ष मलेसिया बसेर धेरै दुःख गर्दा पनि सन्तोषजनक आम्दानी नभएकाले स्वदेशमा फर्केर जुनारखेती गर्न थालेको रामेछाप–७ सुकाजोरका अर्का कृषक रामकुमार कार्कीले बताए ।
रामेछाप नगरपालिकामा हिमाल तामाङ, टेकबहादुर तामाङ, प्रेमबहादुर तामाङ, रामकुमार कार्कीलगायत दजनौँ कृषक वैदेशिक रोजगारीबाट सन्तुष्ट नभएर जुनारखेती गर्ने गरेका छाप नगरपालिकाका वरिष्ठ कृषि शाखा प्रमुख कृष्णबहादुर भुजेलले जानकारी दिए । उनका अनुसार अरुको तुलनामा उनीहरूको बगैँचा र जुनारका दाना राम्रा छन् ।
गत वर्ष जिल्लामा ५२० हेक्टर क्षेत्रफलमा जुनार खेती गरिएको बताउँदै यस वर्ष ५४० हेक्टर क्षेत्रफलमा उत्पादन भइरहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रामेछापकी भवानी बस्नेतले जनाइन् । उनले जिल्लाका विभिन्न पालिकामा वैदेशिक रोजगारीबाट फर्केर जुनार र सुन्तलाखेती गर्नेको सङ्ख्या बढ्दै गएको उल्लेख गरिन् ।
बजारको समस्या नभएकाले यसको व्यवसाय सहज बनेको भन्दै बस्नेतले प्रशस्त उत्पादन, बजारीकरणको समस्या नहुनु, मुनाफा बढीलगायत कारणले युवाको जुनारखेतीप्रति आकर्षण बढेको दाबी गरिन् ।
दैनिक रूपमा विदेशिने हजारौँको युवालाई कृषिकर्ममा विभिन्न अनुदान दिएर सङ्घीय तथा प्रदेश सरकारले लगाउनसके वैदेशिक रोजगारीमा जानेको सङ्ख्या घट्ने मन्थली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवर्षी सापकोटाले बताए । -रासस