पोखरा । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा जिल्ला अदालत कास्कीले पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
न्यायाधीश नितिज राईको इजलासले यस्तो आदेश दिएको हो । अब उनी उक्त रकम बुझाएमा तारेखमा रहेर मुद्दाको पुर्पक्ष गर्नेगरी रिहा हुनेछन् । उनलाई गएको कात्तिक २ गते पक्राउ गरी पोखरा लगिएको थियो ।
रविसँगै उनका साझेदार डीआईजीसमेत रहेका छविलाल जोशीलाई पनि धरौटीमा रिहा गर्न आदेश दिएको छ । उनीसँग अदालतले ८८ लाख रुपैयाँ धरौटी माग गरेको छ ।
जिल्ला न्यायाधीश राईको इजलासमा यही पुस १६ गतेदेखि उक्त मुद्दाका सात जना प्रतिवादीको थुनछेक बहस शुरु भएको थियो । उक्त मुद्दाका लामिछानेसहित सात जना प्रतिवादीको बहस सकिएपछि बुधबार जाहेरवाला सहकारीपीडित पक्षका कानुन व्यवसायीले जवाफी बहस गरेका थिए ।
लामिछानेसहित उक्त सहकारीको रकम अपचलन मुद्दामा जोडिएका पूर्वप्रहरी नायब महानिरीक्षक छविलाल जोशी, लीला पछाईँ, कृष्णबहादुर गुरुङ, रामबहादुर खनाललगायत जोडिएका छन् । यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।