शीर्षकहरू

साढे २८ हजार मेगावाट बिजुली उत्पादन गर्न करिब ६४ खर्ब आवश्यक, कहाँबाट जुटाइन्छ लगानी ?

साढे २८ हजार मेगावाट बिजुली उत्पादन गर्न करिब ६४ खर्ब आवश्यक, कहाँबाट जुटाइन्छ लगानी ?

काठमाडौँ । आगामी दशक अर्थात् सन् २०३५ सम्म नेपालको विद्युत उत्पादन साढे २८ हजार मेगावाट पुर्‍याउन ४६.५ अर्ब अमेरिकी डलर (६३ खर्ब ९० अर्ब ६२ करोड रुपैयाँ) आवश्यक पर्ने देखिएको छ ।

​​​​​ऊर्जा उत्पादनतर्फ प्रक्षेपित आन्तरिक विद्युत मागको आपूर्ति र निर्यात गर्न कुल विद्युत जडित क्षमता २८,५०० मेगावाट पुयाउने लक्ष्य निर्धारण गरिएको छ । विद्युत प्रसारण लाइनतर्फ १३२ केभीका ६,४३१ सर्किट किमी, २२० केभीका ४,०६१ सर्किट किमी र ४०० केभीका ६,४४० सर्किट किमी प्रसारण लाइनको निर्माण सम्पन्न गरी सब स्टेसनहरूको क्षमता ४० हजार एमभीए पुऱ्याउने लक्ष्य लिइएको छ ।

त्यसैगरी, विद्युत व्यापारतर्फ छिमेकी मुलुकहरू भारतमा १०,००० मेगावाटसम्म र बङ्गलादेश र चीनमा ५,००० मेगावाट गरी जम्मा १५,००० मेगावाट विद्युत निर्यात गरिने लक्ष्य राखिएको छ । यी लक्ष्य प्राप्तिका लागि विद्युत उत्पादन, प्रसारण तथा वितरणको संरचनाहरूका लागि सो बराबरको रकम आवश्यक पर्ने देखिएको मन्त्रिपरिषद्‌द्वारा गत पुस १६ गते स्वीकृत ऊर्जा विकास मार्गचित्र २०८१ मा उल्लेख छ ।

राष्ट्रिय अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पत्याउन सक्ने ऊर्जा उत्पादनका आन्तरिक स्रोतहरूको अधिकतम विकास गर्न, राज्यको आन्तरिक विद्युत खपत वृद्धि गर्न, अन्तरदेशीय विद्युत व्यापारका सम्भाव्य प्रतिफलहरू प्राप्त गर्न तथा राज्यको ऊर्जा क्षेत्रको योजनाबद्ध एवं समयक्रमानुसार विकास गर्न सन् २०३५ सम्मको लागि तयार उक्त मार्गचित्र तयार गरिएको हो ।

लगानीको व्यवस्थापन नेपाल सरकार, निजी क्षेत्र, सर्वसाधारण र वैदेशिक लगानीकासाथै गैरआवासीय नेपाली तथा वैदेशिक रोजगारमा कार्यरत नेपालीको पुँजीको परिचालनबाट गरिने बिहीबार पत्रकार सम्मेलन गरी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जानकारी दिएको छ । मार्गचित्रको प्रभावकारी कार्यान्वयनगको लागि समयबद्ध ८१ बुँदे कार्ययोजना पनि तयार गरिएको मन्त्रालयले जनाएको छ, जसमा कार्यक्रमहरुको कार्यान्वयन र अनुगमनको लागि मुख्य जिम्मेवार र सहयोगी निकायहरु समेत तोकिएको छ ।