काठमाडौँ । लगातार सात कारोबार दिन बढेपछि साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक घटेको छ । बिहीबार नेप्से परिसूचक १८.१४ अंक घटेर २६३५.०९ विन्दुमा झरेको छ ।
आज सेन्सेटिभ इन्डेक्स २.९७,फ्लोट इन्डेक्स १.१८ र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.९४ अंक घटेको छ । १३ उपसमूहध्ये होटल र पर्यटनबाहेक अन्य सबै उपसमूहको शेयर घटेको छ । कारोबारमा आएका २४२ मध्ये १८० कम्पनीको शेयर घट्दा ५५ कम्पनीका लगानीकर्ताले भने कमाएका छन् । बाँकी ७ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
बाराही हाइड्रोपावर पब्लिक र हिमालयन पावरको शेयरमा सकारात्मक सर्किट लाग्दा सप्तकोशी विकास बैंकका लगानीकर्ताले सर्वाधिक ९.२३ र मायाखोला हाइड्रोपावरका लगानीकर्ताले ८.४६ प्रतिशतले गुमाएका छन् ।
बिहीबार कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ६ अर्ब ४० करोडको शेयर खरिदबिक्री भएकोमा आज ७ अर्ब ३० करोड ५३ लाख ४२ हजार रुपैयाँ बराबरको १ करोड ५७ लाख २३ हजार कित्ता शेयर कारोबार भएको छ ।