शीर्षकहरू

राष्ट्रिय बीमा कम्पनीबाहेक सबै निर्जीवन कम्पनीको पुँजी पुग्ने

राष्ट्रिय बीमा कम्पनीबाहेक सबै निर्जीवन कम्पनीको पुँजी पुग्ने

काठमाडौं । बीमा समितिको निर्देशन बमोजिम १ अर्ब रुपैयाँ चुक्ता पुँजी १० बीमा कम्पनीले पुर्याएका छन् । समितिले निर्जीवन बीमा कम्पनीलाई सो बमोजिम चुक्ता पुँजी कायम गर्न भनेको हो ।

२०७५ असार मसान्तभित्र १ अर्ब रुपैयाँ चुक्तापुँजी पुर्याउनुपर्ने व्यवस्था बमोजिम धितोपत्र बजारमा सूचीकृत १५ निर्जीवन बीमा कम्पनीमध्ये १० वटाले कायम गरिसकेका छन् ।

पुँजी कायम गर्न बाँकी कम्पनीमा राष्ट्रिय बीमा कम्पनी, एनएलजी इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स रहेका छन् । राष्ट्रिय बीमा कम्पनीबाहेक अन्यको भने पुँजी पुग्ने निश्चितजस्तो देखिएको छ ।

यी कम्पनीले पुँजीबृद्धिका लागि हकप्रद शेयरको बाटो रोजी प्रक्रिया अघि बढाइसकेका छन् । २६ करोड ६६ लाख ३९ हजार मात्र चुक्तापूँजी रहेको राष्ट्रिय बीमा कम्पनीले आव २०६८÷६९ को सञ्चित मुनाफाबाट शेयरधनीलाई १२० प्रतिशत बोनस शेयर वितरण गरी पुँजी कायम गर्ने योजना बनाएको थियो । 

बीमा समितिले उक्त योजनालाई रोक लगाएपछि अब आव २०७५÷७६ को वास्तविक अवस्थाको पर्खाइमा कम्पनी रहेको छ । कम्पनीले दिएको जानकारी अनुसार हाल माघ महिनाभित्र सम्पन्न गर्ने गरी तीन आर्थिक वर्ष २०७४÷७४ देखि २०७५÷७६ सम्मको लेखापरीक्षण कार्य चालिरहेको छ । कम्पनीले २०७५ असोज १९ गते आर्थिक वर्ष २०६३÷६४ देखि २०६७÷६८ सम्मको संयुक्त साधारण सभा गरेको थियो । 

यता लुम्बिनी जनरल इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्सको हकप्रद शेयर लिलामीका बिक्री भइरहेको छ । लुम्बिनी जनरल इन्स्योरेन्सले कात्तिक २४ गतेदेखि मंसिर २९ गतेसम्मका लागि २० प्रतिशत हकप्रद बिक्री खुला गरेको हो । हाल  ८८ करोड चुक्तापूँजी रहेको लुम्बिनी जनरलको २० प्रतिशत हकप्रद पश्चात रू. १ अर्ब ५ करोड ६० लाख पुग्नेछ । युनाइटेडले गत भदौ ३ देखि असोज २३ गतेसम्म २४० प्रतिशत हकप्रद शेयर विक्री खुला गर्दा वितरण हुन नसकेको ४ लाख ९९ हजार १९२ दशमलव ६० कित्ता शेयर लिलामीमा विक्री गरिरहेको छ । 

मंसिर १० गतेदेखि १७ गतेसम्मका लागि लिलामीमा ल्याएको उक्त हकप्रद पश्चात भने युनाइटेडको पनि तोके बमोजिम पुँजी पुग्ने देखिन्छ । हाल रू. ३० करोड २४ लाख चुक्तापुँजी रहेको यस कम्पनीको यो हकप्रद शेयर बिक्री पश्चात चुक्तापुँजी  १ अर्ब २ करोड ८१ लाख ६० हजार पुग्नेछ ।

यी बाहेक बाँकी एनएलजी इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सले भने ६० प्रतिशतका दरले हकप्रद शेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन । एनएलजीले भदौ २४ गते र प्रुडेन्सियलले भदौ २० गते बोर्डमा निवेदन दिएका हुन । यो निवेदन पनि स्वीकृतिको अन्तिम चरणमा रहेको देखिन्छ ।

हाल ६४ करोड ४ लाख ६ हजार चुक्तापुँजी रहेको एनएलजीको ६० प्रतिशत हकप्रद पश्चात चुक्तापुुँजी रू. १ अर्ब २ करोड ४६ लाख ५० हजार पुग्नेछ । ६० प्रतिशत हकप्रदपश्चात प्रुडेन्सियल इन्स्योरेन्सको पनि पूँजी रू. १ अर्ब २ करोड ६४ लाख ३२ हजार पुग्नेछ । हाल यस कम्पनीको चुक्तापुँजी रू. ६४ करोड १५ लाख २० हजार रहेको छ ।