काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेड र नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक समूहको शेयर बिक्रीमा राखेका छन । लघुवित्तले सर्वसाधारणका लागि र नारायणी बैंकले संस्थापक शेयरधनीका लागि शेयर बिक्रीमा ल्याएको हो ।
महुली लघुवित्तले संस्थापक शेयरधनी लक्ष्मी प्रसाद चौधरीको नाममा रहेको ४ हजार ६४१ कित्ता शेयर बिक्रीमा राखेको हो । यो शेयर यसअघि नै संस्थापक शेयरधनीका लागि बिक्री खुला गरिसकिएकाले अब सर्वसाधारणले खरीद गर्न पाउनेछन् ।
इच्छुक व्यक्ति, कम्पनी वा संघ संस्थाले आफूले किन्न चाहेको शेयर संख्या र सोको मूल्य समेत खुलाई सात दिनभित्र निवेदन दिनुपर्नेछ । निवेदन संस्थाको कम्पनी सचिवको कार्यालय अग्नीसाइर कृष्णासवरण–६ महुली सप्तरीमा बुझाउनु पर्नेछ ।
त्यस्तै नारायणी विकास बैंकले संस्थापक शेयरधनीको नाममा रहेको ९४ हजार ४३५ कित्ता शेयर बिक्रीमा राखेको हो । यो शेयरमा हाल बैंककै विद्यमान संस्थापक शेयरधनीले मात्रै आवेदन दिन सक्नेछन् ।
इच्छुक संस्थापक लगानीकर्ताले आफूले किन्न चाहेको शेयर कित्ताको विवरण खुलाइ ३५ दिनभित्र आवेदन दिनु पर्नेछ । आवेदन बैंकको केन्द्रीय कार्यालय, रत्ननगर–१ टाँडी, चितवनमा बुझाउनु पर्नेछ । साथै तोकिएको म्यादभित्र संस्थापक शेयरधनीबाट शेयर खरीदका लागि आवेदन नपरेमा सो शेयर सर्वसाधारणलाई बिक्री गरिने बैंकले जनाएको छ ।