काठमाडौं । चेक अनादर (चेक बाउन्स) सम्बन्धी मुद्दाको प्रतिवादीलाई जेलमा राख्दा थुना खर्च अब सरकार आफैले सिधा बेहोर्नुपर्ने सर्वोच्च अदालतले चेक बाउन्स फैसला गरेको छ । सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र बालकृष्ण ढकालको संयुक्त इजलासले व्यक्तिवादी फौजदारी मुद्दामा प्रतिवादीलाई थुनामा राख्दा खर्च सरकारले नै बेहोर्नुपर्ने फैसला गरेको हो ।
बन्दी प्रत्यक्षीकरणको रिटमार्फत सर्वोच्च अदालत आइपुगेको चेक अनादरसम्बन्धी एक मुद्दामा सर्वोच्चले फौजदारी मुद्दामा पनि कैद सजाय सुनाइएको भए कैदमा लाग्ने सिधा खर्च समेत सरकारले नै बेहोर्नुपर्ने फैसला सुनाएको छ ।
यस फैसलासँगै अब फिरादबाट दर्ता हुने व्यक्तिवादी फौजदारी मुद्दामा पनि अदालतबाट कैद सजाय सुनाइएमा कैद गर्दा लाग्ने सिधा खर्च बापतको दैनिक ३ सय रुपैयाँ खर्च सरकारले नै बेहोर्नुपर्ने भएको छ। चेक अनादर लगायतमा हुन सक्ने यस्ता व्यक्तिवादी फौजदारी मुद्दामा यसअघि फिरादी वा वादीले नै सिधा खर्च बापतको रकम बुझाएर प्रतिवादी वा प्रत्यर्थीलाई थुनामा पठाउने गरिएको थियो ।