काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो केन्द्रीय कार्यालय नयाँ स्थानमा सार्ने भएको छ । २०५८ साल असोजदेखि चितवनको रत्ननगर नगरपालिका वडा नं–०१, बकुलहरबाट केन्द्रीय सेवा दिँदै आएको बैंकको भरतपुर महानगरपालिका वडा नं १० मा कार्यालय सार्न लागिएको हो ।
आधुनिक बैंकिङ प्रणालीमा प्रयोग हुने सुविधाहरुको प्रयोग गर्दै आफ्नो कारोवारलाई चुस्त र दुरुस्त बनाउने र सामाजिक सम्बन्धलाई अझ मजबुद बनाउनका लागि कार्यालय सार्न लागिएको बैंकले जानकारी दिएको छ । बैंकका अनुसार साधारण सभाबाट निर्णय पारित भएपछि केन्द्रीय कार्यालय भरतपुर– १० वाइपासरोड स्थित जिल्ला सहकारी सघं चितवनको आधुनिक नवनिर्मित भवनमा कार्यालय सार्न लागिएको हो ।
नयाँ स्थानमा भवन तयार भई प्रशासनिक कार्य भइरहेको र आगामी माघ महिना भित्रमा बैंकको केन्द्रीय कार्यालय नयाँ स्थानबाट सञ्चालनमा ल्याउने तयारी गरेको जनाइएको छ । बैंकको चितवनको मूख्य पाँच स्थानहरु टाँडी, यज्ञपुरी, भरतपुर, नारायणगढ र पर्सामा शाखा कार्यालयहरु सञ्चालनमा छन् ।