काठमाडौँ । पछिल्लो समय देशका विभिन्न स्थानमा जनावरको आक्रमणबाट हुने मानवीय क्षतिको वृद्धि भएको छ । जनावरको खतरा बढेकाले सम्भावित जोखिमयुक्त क्षेत्रमा सकेसम्म नगई सचेत र सावधान हुन नेपाल प्रहरीले अनुरोध गरेको छ ।
प्रहरीकाअनुसार चालु आर्थिक वर्ष २०८१/८२ को ५ महिनामा ८३ जनाको मृत्यु जनावरको आक्रमणबाट भएको छ । तथ्यांकअनुसार यसअवधिमा सबैभन्दा बढी ७० जनाको मृत्यु सर्पदंशबाट भएको छ । ५३२ जना घाइते भएका छन् ।
यस्तै दोस्रोमा हात्तीको आक्रणबाट ६ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । यसैगरी गैँडाको आक्रमणबाट ४ जनाको मृत्यु भएको छ भने घाइते हुनेको संख्या १४ रहेको छ ।
पछिल्लो केही वर्षयता बाघको आक्रमण बढ्दै गएको घटनाहरू सार्वजनिक भए पनि यस आवको ५ महिनामा बाघको आक्रमणबाट भएको क्षति अन्यभन्दा कम देखिएको छ । तथ्यांकअनुसार यस अवधिमा बाघको आक्रमणबाट ३ जनाले ज्यान गुमाएका छन् भने २४ जना घाइते भएका छन् ।
यसैगरी साउनदेखि मंसिरसम्म भालुको आक्रमणबाट १५ जना घाइते भएको देखिएको छ ।