शीर्षकहरू

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ आजदेखि निष्कासनमा, कस्तो छ त कम्पनीको सम्पूर्ण अवस्था ?

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ आजदेखि निष्कासनमा, कस्तो छ त कम्पनीको सम्पूर्ण अवस्था ?

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सलिमिटेडले पुस २१ गते (आज) देखि सर्वसाधारणमा आईपीओ जारी गरेको छ  । कम्पनीले सर्वसाधारणका लागि आफ्नो जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशत दरलेले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ सर्वसाधारणमा विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । 

कुल कित्ता आईपीओमध्ये कम्पनीले पहिलो चरणमा १० प्रतिशत दरले हुन आउने २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता आईपीओ भने वैदेशिक रोजगारीमा रहेका नेपालीमा निष्कासन तथा बाँडफाँट गरिसकिएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीमा कम्पनीले मंसिर १९ गतेदेखि पुस ३ गतेसम्म आईपीओ निष्कासन गरी पुस ८ गते बाँडफाँट गरिएको हो ।

पहिलो चरणको आईपीओ बाँडफाँटपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बाँडफाँटपछि पनि ३ प्रतिशतले हुने ६७ हजार ५०० कित्ता कम्पनीका कर्मचारीका लागि र ५ प्रतिशतले हुन आउने १ लाख १२ हजार ५०० कित्ता भने सामूहिक लगानीकोषका लागि सुरक्षित गरिएको छ । बाँकी १८ लाख ४५ हजार कित्ता आईपीओ भने सार्वजनिक निष्कासनमा ल्याएको हो ।

सार्वजनिक निष्कासनमा आउने आईपीओ छिटोमा पुस २४ गतेसम्म निष्कासनमा रहनेछ । सो अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने ढिलो अवधि माघ ६ गतेसम्म निष्कासनमा रहनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म माग गर्दै आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताहरुले सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयमार्फत आवेदन दिन सक्ने व्यवस्था छ । साथै मेरो शेयर सफ्टवेयरमार्फत पनि आवेदन दिन सकिनेछ । आईपीओ निष्कासनका लागि गराइएको रेटिङमा केयर रेटिङ्ग नेपाल लिमिटेडले समयमै वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी माईनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । 

कम्पनीको परिचय 
यो कम्पनी नेपालको पहिलो डिजिटल प्रविधिबाट बीमालेख जारी गर्ने लघुबीमा कम्पनी हो । पब्लिक कम्पनीका रुपमा २०७९ साल पुस ११ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको यस कम्पनीले लघु जीवन बीमा व्यवसाय सञ्चालनका लागि भने २०७९ साल चैत २७ गते नेपाल बीमा प्राधिकरणबाट अनुमति पाएको थियो । प्राधिकरणको स्वीकृतिपछि २०८० साल असार २२ गतेदेखि कम्पनीले व्यवसाय सञ्चालन गर्दै आएको छ । गरिबीको रेखामुनी रहेका , न्यून आय, सिमान्तकृत साथै बीमाको पहुँचमा नरहेका नागरिकलाई उनिहरुको आवश्यकता अनुसार जीवन बीमासेवा उपलब्ध गराउनुनै कम्पनीको मुख्य उदेश्य हो । कम्पनीले केन्द्रिय कार्यालय समेत गरी २४ स्थानबाट लघु जीवन बीमा व्यवसाय गरिरहेको छ । यस कम्पनीले बीमालाई प्रविधिमैत्री, सहज र सजिलो तरिकाले मोबाइल एपबाटनै बीमालेख खरीद गर्न सक्ने व्यवस्था गरेको छ । कम्पनीको कारोबार गर्ने मुख्य स्थान कोशी प्रदेश , मोरङ जिल्ला विराटनगरमा रहेको छ । 

पूँजी संरचना 
अधिकृत पूँजी ८० करोड रुपैयाँ रहेको कम्पनीको जारी पूँजी ७५ करोड रुपैयाँ छ । हाल संस्थापक तर्फ चुक्ता भएको पूँजी ५२ करोड ५० लाख रुपैयाँ छ । संस्थापकतर्फ ७० प्रतिशत शेयर स्वामित्व कायम रहेको हो । सर्वसाधारणमा ३० प्रतिशत आईपीओ बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी ७५ करोड रुपैयाँ कायम हुनेछ । कम्पनीले नियामक निकाय नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम ७५ करोड रुपैयाँ चुक्तापूँजी कायम गर्नुपर्ने अवस्थामा कम्पनीले आईपीओ निष्कासन गरेको हो । आईपीओबाट प्राप्त पूँजी कम्पनीको व्यवसायिक प्रयोजनमा उपयोग गर्ने बताइएको छ । कम्पनीले २२ करोड ३० लाख रुपैयाँ मुद्दती निक्षेपमा र २० लाख रुपैयाँ शाखा विस्तार तथा भौतिक पूर्वाधारको अभिबृद्धिका लागि खर्चिने योजना बताएको छ ।

वित्तीय अवस्था 
कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार आर्थिक वर्ष ०७९÷८० सम्म १५ लाख ८३ हजार रुपैयाँ सञ्चित नाफामा रहेको देखिन्छ । गत आर्थिक वर्ष ०८०÷८१ सम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार भने कम्पनीको सञ्चित नाफा २७ लाख ५० हजार रुपैयाँ छ । चालू आर्थिक वर्ष ०८१÷८२ सम्म भने कम्पनीले ८४ लाख १४ हजार रुपैयाँ सञ्चित नाफा गर्ने प्रक्षेपण गरेको छ । अघिल्लो आर्थिक वर्ष ०७९÷८० को वास्तविक अवस्था अनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ १०० रुपैयाँ ३४ पैसा र प्रतिशेयर आम्दानी ३४ पैसा रहेको छ । चालू आर्थिक वर्षभित्र कम्पनीले प्रतिशेयर नेटवर्थ १०१ रुपैयाँ २६ पैसा र प्रतिशेयर आम्दानी ८५ पैसा कायम गर्ने प्रक्षेपण गरेको छ ।

सञ्चालकमा को कोे छन् ?
कम्पनीको नियामावलीमा संस्थापक समूहबाट चार जना र सर्वसाधारण शेयरधनीहरुबाट २ जनासँगै एक जना स्वतन्त्र सञ्चालक समेत ७ जनाको सञ्चालक समिति हुने व्यवस्था छ । सर्वसाधारण शेयरधनीहरुको स्वामित्व कायम गर्न बाँकी यस कम्पनीमा हाल संस्थापकतर्फबाट चार र एक स्वतन्त्र सञ्चालक समेत ५ सदस्यीय सञ्चालक समिति रहेको छ । कम्पनीको अध्यक्षमा ३८ वर्षका उदिप श्रेष्ठ रहेका छन् । एमबिए गरेका अध्यक्ष श्रेष्ठसँग कम्पनीको ५० हजार कित्ता शेयर रहेको कम्पनीले सार्वजनिक गरेको आव्हान पत्रमा उल्लेख छ । पञ्चकन्या ग्रुपमा पनि सन २००९ सालदेखि हालसम्म कार्यकारी निर्देशकका रुपमा कम्पनीका अध्यक्षश्रेष्ठले जिम्मेवारी सम्हालिरहेका छन् । कम्पनीका सञ्चालकहरुमा भने डा. जय प्रकाश जैसवाल, उदय नारायण भट्टराई , सिए.ए. त्रिशिला झुनझुनवाला र प्रमोद प्रसाद भट्टराई रहेका छन् । प्रमोद प्रसाद भट्टराई स्वतन्त्र सञ्चालकका रुपमा रहेका हुन ।

दोस्रो बजारमा सूचीकृतपछि कति मूल्य पाउला ?
धितोपत्र प्राथमिक बजारमा विक्री गरी कम्पनीको यो आईपीओ कारोबारका लागि भने धितोपत्र दोस्रो बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत हुनेछ  । सूचीकृत भएको दोस्रो कारोबार दिनदेखि कारोबारमा आउने कम्पनीको आईपीओको पहिलो कारोबार मूल्य नेप्सेले निर्धारण गर्नेछ ।

नेप्सेले कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थको आधारमा तीन गुणासम्मको मूल्य रेञ्ज तोक्नेछ । यसर्थ कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थको आधारमा न्यूनतम प्रतिकित्ता १०० रुपैयाँ ३४ पैसादेखि देखि अधिकतम प्रतिकित्ता ३०१ रूपैयाँ २ पैसासम्मको मूल्य रेञ्ज नेप्सेले पहिलो कारोबारका लागि तोक्ने देखिन्छ । पहिलो कारोबारपछिको मूल्य भने बजारमा लगानीकर्ताको माग र आपुर्तिका आधारमा निर्धारण हुनेछ ।