काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबीफिन)को नयाँ कार्यसमितिको सचिव पदका लागि भोटिङ शुरु भएको छ । अन्य पदमा सर्वसम्मत सहमति जुटे पनि सचिव पदमा दुई जनाको उम्मेदवार इच्छुक देखिएपछि चुनाव हुन लागेको हो ।
सचिव पदमा साइन रेसुङ्गाका अध्यक्ष थानेश्वर पौडेललाई सर्वसम्मत चुन्ने तयारी गरिएको थियो । तर एक्सेल डेभलेपमेन्ट बैंकका महेन्द्रकुमार गोयलले पनि सोही पदमा उम्मेदवारी दर्ता गराएका हुन् । सहमतिको प्रयास भए पनि उक्त प्रयास विफल भएको हो ।
सिबीफिनमा ३८ वटा वित्तीय संस्था आवद्ध छन् । जसमा प्रत्येक संस्थाका अध्यक्ष र एक जना थप प्रतिनिधि गरी ७६ जनाले मतदान गर्न पाउँछन् । तर ४५ जना मतदाता मात्रै भोटिङमा सहभागी भएको निर्वाचन समितिले जनाएको छ ।
बेलुकी ६ बजेदेखि मतगणना शुरु हुने जानकारी समितिले दिएको छ ।
अध्यक्षमा नबिल बैंकका अध्यक्ष समेत रहेका उपेन्द्र पौड्याल सर्वसम्म चयन भैसकेका छन् । उनलाई आज काठमाडौंमा भएको सिबीफिनको पाँचौ वार्षिक साधारणसभाबाट पौड्याल पुनः अध्यक्षमा निर्विरोध चयन गरिएको हो ।
यस्तै वरिष्ठ उपाध्यक्षमा महालक्ष्मी विकास बैंकका राजेश उपाध्याय, उपाध्यक्षमा रिलायन्स फाइनान्सका कुशप्रसाद मल्ली, महासचिवमा हिमालयन बैंकका प्रचण्डबहादुर श्रेष्ठ, कोषाध्यक्षमा एनआईसी एशिया बैंकका तुलसीराम अग्रवाल र सहकोषाध्यक्षमा गोर्खा फाइनान्सका गौरव बुढाथोकी सर्वसम्म चयन भैसकेका छन् ।
यसैगरी सदस्यहरुमा राजाराम खड्का, डा बाल गोपाल वैद्य, लिला प्रकाश सिटौला, मनोजकुमार गोयल, चन्द्र बहादुर अधिकारी, राधेश पन्त, रमण नेपाल, सुदिप आचार्य, चिन्तामणी भट्टराई र लक्ष्मीप्रसाद महर्जन चयन भएको निर्वाचन समितिले जनाएको छ ।