काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेस अग्रवालले सरकारले बैंक तथा वित्तीय संस्थाका ऋणीको घरजग्गा बिक्रीमा रोक लगाउनु पर्ने बताएका छन् । शुक्रबार बैंक तथा वित्तीय संस्था परिसंघ (सीबीफिन) को पाँचौ वार्षिक साधारण सभामा उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘अहिले बैंक तथा वित्तीय संस्थाहरुले धमाधम ऋणीहरुको घरजग्गा लिलाममा राखेर विक्री गर्दा बैंकले पनि मूल्य नपाएको अबस्था छ भने ऋणीलाई पनि समस्या परिरहेको छ । त्यसैले अब सरकारले सम्पत्ति व्यवस्थापन कम्पनी खेरमात्र ऋणीहरुको सम्पत्ति लिलाम गर्न पर्छ ।’
‘बैंक तथा वित्तीय संस्थाले सबैभन्दा बढी घरजग्गामा लगानी गरेका छन् । घरजग्गाको कारोबार हुन नसक्दा धेरै बैंकहरू कालो सूचीमा परेका छन्,’ उनले भने । त्यसैले यस्तो क्षेत्रमा लगानी रोक लगाउनु पर्ने उनले बताए ।
यस्तै उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन शाक्यले भने बैंक तथा वित्तीय संस्थामा पर्याप्त तरलता भए पनि व्यवसायीले कर्जा भने पाउन नसकेको बताए । ‘जिल्लाका बैंकमा कर्जा लिन जाने हो भने बैंकका कर्मचारीले यो त कर्जा असुली गर्ने बेला हो कर्जा दिने बेला हैन भन्छन् । हामीलाई केन्द्रीय कार्यालयबाट यस्तै निर्देशन छ भन्छन् । बैंकमा पैसा छ तर लगानी भने भएको छैन, उनले भने ।