काठमाडौँ । उच्चस्तरीय आर्थिक सुधार आयोगका संयोजकसमेत रहेका अर्थविद् रामेश्वर खनालले मुलुकको अर्थतन्त्र व्यवस्थापनका लागि सरकारले सन्तुलित नीति अवलम्बन गर्नुपर्ने बताएका छन् । शुक्रबार बैंक तथा वित्तीय संस्था परिसंघ (सीबीफिन) को पाँचौ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले सरकारले सन्तुलित नीति नलिएको आरोप लगाए ।
यसअघि सरकारले कि त अति नै कठोर कि त अति नै लचिलो नीति अपनाएको, जसले अर्थतन्त्रलाई सन्तुलित बनाउने नसकेको उनले बताए । ‘अप्ठेरो अवस्थामा ज्यादै लचिलो नीति अपनायौँ । परिस्थिति सहज हुँदा ज्यादै कठोर नीति अपनायौँ । यी दुवै नीतिले अर्थतन्त्रलाई सन्तुलनमा ल्याउन सकेन,’ उनले भने, 'त्यसैले आगामी दिन सरकारले ज्यादै कठोर वा लचिलो नीति अपनाउनु हुँदैन । सन्तुलित हुनुपर्छ ।'
संयोजक खनालले नेपालका अर्थतन्त्रमा तीन खालका अन्तरविरोध भएको समेत जिकिर गरे । 'नेपालको बैंक तथा वित्तीय संस्थाको नियमन अति नै प्रभावकारी छ । तर, बैंक तथा वित्तीय संस्थाको खराब कर्जाको आकार पनि बढ्दै गएको उनले बताए । त्यस्तै, बैंकिङ क्षेत्रमा अहिले पर्याप्त तलरता छ । बैंकमा धेरै पैसा भएपछि राष्ट्र बैंकले प्रत्येक हप्ता तरलता प्रशोचन गरेको छ । व्यक्तिको हातमा भने तरलता छैन,' उनले भने । बैंकहरूले कर्जा नै प्रवाह भएन भनिरहँदा उता व्यवसायीले भने बैंक तथा वित्तीय संस्थाले कर्जा नदिएको गुनासो गरिरहेको उनले बताए ।