काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बैंक तथा वित्तीय संस्थाहरूले तथ्यांक मात्रै देखाएर सम्भावनाभन्दा बाहिर बरालिएको बताएका छन् । गाउँपालिका पुगेका वित्तीय संस्थाका शाखालाई गणना गर्दै बैंकिङ पहुँच विस्तार गरेको भ्रम छरेको उनले बताए ।
शुक्रबार बैंक तथा वित्तीय संस्था परिसंघ (सीबीफिन) को पाँचौ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री भण्डारीले गाउँपालिका पुगेका बैंक तथा वित्तीय संस्थाले सामाजिक सुरक्षा भत्ता र सरकारी कारोबार मात्रै गरेको बताए । ‘गाउँ गाउँमा बैंकको शाखा खोल्नु भनेको स्थानीय निकायमा बैंकिङ सम्भावनाको खोजी गर्नु भनेको हो । स्थानीय नागरिकलाई बैंकिङ कारोबारका लागि प्रेरित गर्नु भनेको हो । तर, गाउँपालिकामा खोलिएका बैंकले सुरक्षा भत्ता र सरकारी कारोबार मात्रै गरेका छन् । अन्य सम्भावनाको खोजी गरेनन्,’ उनले भने । तिनै बैंकको शाखा संख्या र कारोबारको तथ्यांक देखाएर वित्तीय संस्थाहरू रमाई रहेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दे मन्त्री भण्डारीले बैंकले रचनात्मक सृजना गर्ने सक्ने सजिव व्यक्तिमा भन्दा निर्जीवन ठूला ठूला संरचनामा बैंक तथा वित्तीय संस्थाले विश्वास गरेको समेत उनले गुनासो गरे । ‘शहरमा बन्ने ठूला मल, भवन र होटल लगायतका संरचनालाई बैंक तथा वित्तीय संस्थाले विश्वास गर्छन् । जति पनि कर्जा दिन तयार हुन्छन् । तर, मूर्त एक व्यक्ति जोसँग सम्भावना छ । त्यसलाई भने वित्तीय संस्थाहरूले विश्वास गर्देनन् । कर्जा दिँदैनन्,’ उनले भने । जबसम्म एक व्यक्तिले बैंक तथा वित्तीय सस्थाबाट लाभ लिन सक्दैन र उत्पादकत्व वृद्धि गर्न सक्दैन तबसम्म बैंक तथा वित्तीय संस्थाले मुनाफा आर्जन गर्न नसक्ने पनि उनले बताए ।