शीर्षकहरू

एमसीसीले थप ५ करोड अमेरिकी डलर सहयोग प्रदान गर्ने

एमसीसीले थप ५ करोड अमेरिकी डलर सहयोग प्रदान गर्ने

काठमाडौँ । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले नेपालका लागि थप ५ करोड अमेरिकी डलर सहयोग थप गर्ने भएको छ ।

एमसीसी सञ्चालक समितिले मेरिकी अनुदान र नेपाल सरकारको लागत साझेदारीमा २०८० भदौदेखि ४२ करोड ७० लाख अमेरिकी डलर बराबरको एमसीसीअन्तर्गतका आयोजना शुरु भएको थियो । यो थप रकम स्वीकृतिका लागि नेपाल सरकारकहाँ पठाइनेछ । मन्त्रिपरिषद्को बैठकले सहयोग स्वीकृत गर्ने निर्णय गरेसँगै एमसीसी नेपाल कम्प्याक्टको कुल बजेट ७४ करोड ७० लाख अमेरिकी डलर पुग्नेछ ।

एमसीसी बोर्डले प्रेस विज्ञप्ति जारी गर्दै बोर्डको यो निर्णयले नेपालको विकास प्राथमिकता कार्यान्वयन गर्ने एमसीसी र नेपाल सरकारबीचको साझा प्रतिबद्धतामा जोड दिएको उल्लेख गरेको छ । 

 

यो अतिरिक्त सहायता रकमबाट नेपालको विद्युत् प्रसारणलाई सुदृढ गर्न, दीर्घकालीन आर्थिक वृद्धिका साथै ‘कम्प्याक्ट’को सफलता सुनिश्चित गर्न योगदान पुग्ने विश्वास एमसिसी कम्प्याक्ट अपरेसनका उपाध्यक्ष क्यामरन अल्फोर्डले व्यक्त गरेको विज्ञप्तिमा उल्लेख छ ।

एमसिसी परियोजनाअन्तर्गत चार सय केभीको डबल सर्किट तीन सय १५ किलोमिटर विद्युत् प्रसारण लाइन बन्नेछ । काठमाडौँको लप्सीफेदी र नुवाकोटको रातमाटेमा सबस्टेसन, मकवानपुर, धादिङ, तनहूँ, पाल्पा, चितवन, नवलपरासी हुँदै भारतको महेशपुरसम्म प्रसारण लाइन बनाइने छ । प्रसारण लाइन निर्माणपछि नेपाल–भारतबीच तीन हजार मेगावाट बिजुली आदानप्रदान सम्भव हुनेछ ।