काठमाडौं । गत असोजमा आएको बाढीले जीवन बीमा कम्पनीहरूमा एक करोड ३६ लाख ६५ हजार रुपैयाँ बराबरको दाबी परेको छ । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार नौ वटा जीवन बीमा कम्पनीमा ३० वटा दाबी परेको थियो ।
प्राधिकरणका अनुसार नेपाल लाइफ इन्स्योरेन्स, मेट लाइफ, हिमालयन लाइफ, सिटिजन्स लाइफ, एशियन लाइफ, राष्ट्रिय बीमा कम्पनी, लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी), नेशनल लाइफ र क्रेष्ट लघु जीवन बीमा कम्पनीमा दाबी परेको थियो । कम्पनीमा परेको दाबी रकममध्ये एक करोड २४ लाख रुपैयाँ दाबी भुक्तानी भैसकेको प्राधिकरणले दाबी गरेको छ । कम्पनीहरूले २६ वटा दाबीको भुक्तानी गरेका हुन् ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा ८ वटा पोलिसी बापत ३० लाख २५ हजार रुपैयाँ दाबी परेको थियो । जसमध्ये कम्पनीले ६ वटा दाबी बराबर ३४ लाख २१ हजार रुपैयाँ भुक्तानी गरेको छ । कम्पनीमा नौ लाख रुपैयाँ बीमांक रकमको दुईवटा पोलिसीको दाबी परेको थियो । जसको कम्पनीले १४ लाख ५५ हजार रुपैयाँ भुक्तानी गरेको छ । दुई लाख ५० हजार रुपैयाँ बीमांक भएको एउटा दाबी परेको थियो । जसको कम्पनीले चार लाख ९० हजार रुपैयाँ भुक्तानी गरेको छ । पाँच लाख ७५ हजार बीमांक रकमको दुई वटा पोलिसीको दाबी परेको थियो । जसको कम्पनीले १२ लाख ८५ हजार रुपैयाँ भुक्तानी गरेको छ । ७ लाख ५० हजार रुपैयाँ बीमांक रकमको एउटा दाबी परेको थियो । जसको कम्पनीले १ लाख ९० हजार रुपैयाँ भुक्तानी गरेको प्राधिकरणले जनाएको छ ।
त्यस्तै, तीन लाख रुपैयाँ बीमांक रकम भएको र दुई लाख ५० हजार रुपैयाँ बीमांक रकम भएको १/१ वटा दाबीको भुक्तानी हुन बाँकी छ ।
मेट लाइफ इन्स्योरेन्समा पनि ६ वटा पोलिसीको ३८ लाख ६५ हजार रुपैयाँ दाबी परेको थियो । जसको कम्पनीले पूरै भुक्तानी गरिसकेको छ । मेट लाईफमा बाग्मती प्रदेशमा दुई वटा दाबी परेको थियो । सात लाख २० हजार बीमांक रकमको एउटा र ७५ हजार बीमांक रकमको एउटा दाबी परेको थियो । दुवै पोलिसीको कम्पनीले सोही बराबरको भुक्तानी गरेको छ । लुम्बिनी प्रदेशमा १० लाख ४० हजार रुपैयाँको दाबी परेको थियो । जसको कम्पनीले ९० हजार रुपैयाँ भुक्तानी गरेको छ ।
मधेश प्रदेशमा १४ लाख रुपैयाँसहितको एउटा दाबी परेको थियो । जसको कम्पनीले १४ लाख रुपैयाँ नै भुक्तानी गरेको छ । कोशी प्रदेशमा पाँच लाख ६० हजार रुपैयाँ सहित एउटा दाबी परेको थियो । जसको कम्पनीले दाबी रकम बराबर भुक्तानी गरेको छ । कोशी प्रदेशमा ७० हजार दाबीसहित एउटा दाबी परेको थियो । जसको कम्पनीले दाबी रकम नै भुक्तानी गरेको छ ।
हिमालयन इन्स्योरेन्स कम्पनीमा ५ वटा पोलिसीको २७ लाख रुपैयाँ दाबी परेको थियो । दाबीमध्ये कम्पनीले तीन वटा पोलिसीको १६ लाख रुपैयाँ भुक्तानी गरेको छ । एउटा पोलिसीको व्यतित भैसकेकाले दाबी भुक्तानी गर्न नमिल्ने कम्पनीले स्पष्ट पारेको छ भने एउटा पोलिसीको भुक्तानी हुन बाँकी छ ।
एशियन लाइफ इन्स्योरेन्स कम्पनीमा बाग्मती भित्रै दुई वटा दाबी परेको थियो । कम्पनीले दुई वटै दाबीको भुक्तानी गरेको छ । एक लाख रुपैयाँ बीमांक रकम भएको बीमामा परेको दाबीको कम्पनीले दुई लाख ६८ हजार भुक्तानी गरेको छ । १० लाख रुपैयाँ बीमांक भएको बीमाको कम्पनीले २० लाख ४४ हजार रुपैयाँ भुक्तानी गरेको छ ।
क्रेष्ट माइक्रो इन्स्योरेन्स कम्पनीमा ६५ हजार बीमांक रकमको एउटा दाबी परेको थियो । जसको कम्पनीले भुक्तानी गरि सकेको छ । सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीमा सात लाख ३० हजार रुपैयाँ बीमांक भएको पाँच वटा लघु जीवन बीमाको दाबीको परेको थियो । जसको कम्पनीले बीमांक रकम बराबरको दाबी भुक्तानी गरी सकेको छ । राष्ट्रिय जीवन बीमा संस्थानमा पाँच लाख रुपैयाँ बराबरको एउटा दाबी परेको थियो । जसको कम्पनीले १० लाख ३४ हजार रुपैयाँ दाबी भुक्तानी गरि सकेको छ । एलआईसी जीवन बीमा कम्पनीमा तीन लाख ८० हजार रुपैयाँ बीमांक रकमको एउटा दाबी परेको थियो । सो दाबी रकम पनि कम्पनीले भुक्तानी गरिसकेको छ ।
नेशनल लाइफ इन्स्योरेन्स कम्पनीमा १३ लाख रुपैयाँ बीमांक रकमको दाबी परेको थियो । दाबीको कागजपत्र प्राप्त हुन बाँकी रहेकोले भुक्तानी नभएको प्राधिकरणले जनाएको छ ।असोजमा १० र ११ गते आएको अविरल बर्षाले मुलकुभर ठूलो जन धनको क्षति भएको थियो । बाढीका कारण निर्जीवन बीमामा करिब १३ अर्बको दाबी परेको थियो । प्राधिकरणको तथ्यांकअनुसार गत पुस १० गतेसम्ममा निर्जीवन बीमा कम्पनीमा भने १२ अर्ब ८८ करोड रुपैयाँ बराबरको दाबी परेको छ ।
निर्जीवन बीमा कम्पनीहरूमा दाबी भुक्तानीमा ढिलाई भएपछि प्राधिकरणले कम्पनीलाई सहज र तीव्र भुक्तानीका लागि तोकेता गरेको छ । निर्जीवन बीमा कम्पनीको तुलनामा जीवन बीमा कम्पनीहरूले छिटो दाबी भुक्तानी गरेको छन् । जीवन बीमा कम्पनीले बीमांक रकममा हालसम्मको बोनश समेत जोडेर भुक्तानी गरेका छन् । तर, बीमा पोलिसीको भुक्तानी र बीमितले लिने सुविधाको आधारमा जीवन बीमा कम्पनीले भुक्तानी गरिन्छ ।