काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले निर्माण सम्पन्न गरेको १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजनाबाट विद्युतको व्यापारिक उत्पादन सुरु भएको छ । कम्पनीको पुस १७ गते दिउँसो बसको सञ्चालक समितिको निर्णय अनुसार पुस १६ गतेदेखिनै लागू हुने गरी आयोजनाबाट उत्पादित विद्युतको व्यापारीक उत्पादन सुरु भएको हो ।
यस कम्पनीले रसुवा जिल्लाको गोसाइकुण्ड गाउँपालिका वडा नम्बर १ थुमन र वडा नम्बर २ टिमुरेको सिमाना हुँदै बहने भोटेकोशी नदीको पानी उपयोग गरी उक्त आयोजना निर्माण सम्पन्न गरेको हो । यस कम्पनीको अधिकृत पूँजी ७ अर्ब र जारी पूँजी ६ अर्ब ८४ करोड २१ लाख रुपैयाँ छ । आयोजनाको निर्माण लागत नेपाल विद्युत प्राधिकरणसँग आयोजनाको विद्युत खरीद विक्री सम्झौता गर्ने समयमा तयार पारिएको आयोजनाको लागत अनुमानका आधारमा निर्माण अवधिको ब्याज बाहेक १३ अर्व ६८ करोड ४२ लाख रुपैयाँ छ ।
हाल कम्पनीको चुक्तापूँजी ६ अर्ब ८४ करोड २१ लाख रुपैयाँ कायम रहेको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनी १ करोड ४ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको छ । विद्युत विक्री आम्दानी नभइरहेको अवस्थामा कम्पनीले खुद नोक्सानी कम गर्दै गएको अवस्था थियो । गत असार मसान्तसम्म कम्पनीको खुद नोक्सानी ४ करोड २९ लाख रुपैयाँभन्दा बढी थियो ।