शीर्षकहरू

लाइफ इन्स्योरेन्स कर्पोरेशनको हकप्रद शेयर खरीदका लागि आवेदन दिने आज अन्तिम दिन

लाइफ इन्स्योरेन्स कर्पोरेशनको हकप्रद शेयर खरीदका लागि आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले मंसिर १२ गतेदेखि निष्काशन गरेको हकप्रद शेयर खरीदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा ८८ दशमलव ४५१६८ प्रतिशत हकप्रद शेयर निष्काशन गरेको हो ।

पुस २ गतेसम्म निष्काशन अवधि तय भएकोमा माग बमोजिम आवेदन नपरेकाले १५ दिन अवधि थप गरी पुस १७ गतेसम्मको मिति तय गरिएको हो । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ बराबरको २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद शेयर निष्काशनमा ल्याएको हो ।

यो हकप्रद शेयर निष्काशन प्रयोजनका लागि कम्पनीले कात्तिक ९ गते बुकक्लोज गरेको थियो । बुक क्लोजको आधारमा कात्तिक ८ गतेसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको हकप्रद शेयरमा आवेदन दिन पाउनेछन् । कम्पनीको हकप्रद शेयर शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

विक्री प्रबन्धकसँगै कम्पनीको केन्द्रिय कार्यालय स्टार मल, पुतलीसडक, काठमाडौँ तथा सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयमार्फत आवेदन दिन सकिने व्यवस्था छ । मेरो शेयर अनलाईन मार्फत पनि आवेदन दिन सकिने व्यवस्था कम्पनीले गरेको छ । हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ रहेको छ । यो हकप्रद शेयर निष्काशन तथा बाँडफाँट पश्चात् कम्पनीको चुक्ता पूँजी ५ अर्ब रुपैयाँ कायम हुनेछ ।

हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त सुरक्षित रहेको संकेत गर्ने इक्राएनपी इस्यूअर ए प्लस रेटिङ्ग प्रदान गरेको छ ।