विराटनगरका प्रवेश रिजाल अमेरिकाको न्यूर्योकका व्यस्त बैंकर्स हुन् । सिटी ग्रुपबाट अमेरिकी बैंकिङ क्षेत्रमा प्रवेश गरेका उनी हाल न्यूयोर्क सिटीस्थित क्रस रिभर बैंकमा क्वान्टिटेटिभ स्ट्राटेजिजका प्रमुख (Head of Quantitative Strategies) को रूपमा कार्यरत छन् ।
उनले सिटी ग्रुपमा वरिष्ठ उपाध्यक्ष र पीएनसीमा उपाध्यक्ष जस्ता उच्च पदहरूमा कार्य गर्दै क्रेडिट र फिक्स्ड–इनकम डेरिभेटिभ्समा विशेषज्ञता हासिल गरेका छन् । रिजालले अस्ट्रेलियाबाट सुरु गरेको बैंकिङ करियर युरोप हुँदै वाल स्ट्रिटमा आफ्नो पहिचान स्थापित गरिसकेका छन् । उनी क्रस रिभर जानुअघि म्यासाचूसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीमा अप्रिल २०२२ देखि ब्लकचेन विषयका विशेषज्ञका रुपमा काम गरेका थिए ।
न्यूयोर्क विश्वविद्यालय र अक्सफोर्ड विश्वविद्यालयमा अध्ययन गरेका रिजालले विकासोन्मुख अर्थतन्त्रहरूलाई परिवर्तन गर्न वित्तीय क्षेत्रको सम्भावनाको उपयोगबारे वकालत गर्नुका साथै विशेषगरी, नेपालजस्तो देशमा अन्तर्राष्ट्रिय वित्तीय लगानी र प्रविधि हस्तान्तरणको महत्त्वलाई बारम्बार जोड दिँदै आएका छन् । छोटो समयका लागि नेपाल आएका बेला नेपाल न्यूज बैंक रिजालसँग कुराकानी गरेको छ ।
यस पटक तपाईंको नेपाल भ्रमणको उद्देश्य बताईदिनु हुन्छ कि ?
एक दिनको लागि नेपालमा छु । यो पारिवारिक भ्रमण हो । म विराटनगरबासी भएपनि आमाबुवा काठमाडौंमै हुनुहुन्छ । बुवा आमालई भेटेर फर्किन्छु । तर म नेपाल आइरहेकै हुन्छु ।
शुरुमा अमेरिकाकै कुरा गरौँ, अमेरिकामा डोनाल्ड ट्रम्प दोस्रो पटक राष्ट्रपति हुनुभएको छ । यसले नेपालजस्ता साना राष्ट्रहरुको अर्थतन्त्रमा कस्तो असर पार्ला ?
यसलाई समग्रमा दुई–तीन वटा एंगलबाट हेर्नुपर्छ । अमेरिकामा भएका नेपालीहरु र विद्यार्थीहरु जुन काम गरिरहनु भएको छ उहाँहरुलाई अध्यागमनका दृष्टिकोणबाट हेर्नसक्छ । अर्थतन्त्रको दृष्टिकोणले पनि हेर्नसक्छ । अन्तर्राष्ट्रिय व्यापारका लागि अमेरिका र चीनबीच द्वन्द्व हुनसक्छ । यसको संभावना व्यापक छ । जसका कारण सबैलाई एकमुष्ट रुपमा मुछेरै लिएर जान सक्छ । त्यसपछि मार्केट ओपन गर्न सक्छ । यसरी मार्केट ओपन गर्यो भने नेपाललाई फाइदा नै हुन्छ । तर नेपालले पनि यसमा राम्रोसँग प्रस्तुत हुनुपर्छ । अब जहाँ जहाँ अवसर मिल्छ त्यहाँ कसरी क्यापिटलाइज गर्ने त्यो ध्यान दिन सक्नुपर्छ । नेपालले कहाँ अवसर मिल्छ त्यो हेर्नुपर्छ । तर व्यापारमा नेपाललाई मौका मिल्नसक्छ ।
क्रेडिट रेटिङ एजेन्सी ‘फिच’ ले हालै नेपाललाई ‘बीबी माइनस रेटिङ’ दिएको छ । यसलाई कसरी लिनुहुन्छ ? अन्तर्राष्ट्रिय लगानी भित्र्याउन यसले कस्तो असर गर्ला ?
क्रेडिट रेटिङ खास गरेर क्रेडिट लिनको लागि हो । ऋण लिनको लागि हो । हामीले अहिले नेपालको मिक्स हेर्यौं भने सहुलियत ऋण धेरै नै मिल्नसक्छ । नेपालले ऋणमा रिक्स नै लिएको छ । क्रेडिट रेटिङ चाँही राम्रो अभ्यास हो । तर नेपालले क्रेडिट रेटिङमा जानको लागि कसरी लगानी गर्ने त्यो सोच्ने समय आएको छ । एउटा त रेटिङको कुरा भयो । रेटिङ लिएर विश्व ऋण बजारमा के गर्ने त्यसमा निश्चित हुनुपर्ने भएको छ ।
तपाईंले नेपालको बैंकिङ प्रणालीलाई पनि नजिकबाट हेरिरहनुभएको छ । अन्तर्राष्ट्रिय दृष्टिकोणबाट हेर्दा नेपालको बैंकिङ प्रणाली कुन स्तरमा छ ? कुन क्षेत्रमा सुधार गर्नुपर्छ जस्तो लाग्छ ?
नेपालमै बसेर काम गरेको त छैन् । तर नेपालको बैंकिङ क्षेत्रबारे अनुसन्धान गरेकोे १२ वर्ष भयो । नेपालमा व्यवसायिक तथा विकास बैंकहरुमा मिश्रित बैंकिङ प्रणाली छ । नेपालको बैकिङ प्रणालीमा क्रेडिट धेरै नै छ । मलाई खट्किएको विषय भनेको चाहिँ नेपालको बैंक मध्यस्थकर्ता नभएर बैंकिङ हट्स्पटका रुपमा काम भइरहेको छ । नेपालको बैंकले ऋण तथा कर्जा प्रवाह गर्ने कुरामा आफ्नो व्यालेन्स सिटबाट दिन मिल्छ या त क्यापिटल मार्केटबाट लोन ल्याण्ड गर्न मिल्छ । नेपालमा लोन ल्याण्ड गर्ने प्रणाली नै छैन् । यसलाई ब्यालेन्ससिट गरेर राख्नुपर्छ । बैंकको लोन बुक प्रयोग गरेर फरक किसिमको रिस्क म्यानेज गर्न मिल्छ कि मिल्दैन भनेर क्लियर गर्नुपर्छ ।
कोभिडले विश्वको अर्थतन्त्रलाई लामो समयसम्मलाई असर पार्यो । नेपालको सन्दर्भमा यसलाई कुन रुपमा हेर्नुभएको छ ?
कोभिडले विश्वमा परेको आर्थिक क्षतिको समय फरक फरक भएर आएको छ । यस हिसाबले अमेरिका, क्यानडा, युरोपेली मुलुकहरु र जापानले अर्थतन्त्रमा मुद्रा प्रवाह गरेका थिए । त्यो समयमा उपभोक्ता क्षेत्र खस्किएको थिएन । अहिले आएर हामीले के प्रभाव देख्दैछौं भने महंगी बढ्यो, युद्धहरु सुरु भए । त्यसले अझ मुद्रास्फिति (इन्फ्लेशन) लाई थप्यो । यि सबै कुराले गर्दा अघिल्लो वर्ष २०२३ देखि २०२४ सम्म नै विश्वभर नै कन्ज्यूमर क्षेत्र कमजोर भएको देखिएको छ । तर अब त्यो माथि जादैँछ । यो हाम्रो लागि अवसर हो । सबैभन्दा दुःखको समय गइसक्यो । अब राम्रो समय आउला । २०२५–२६ विश्वभरको कन्ज्यूमर क्षेत्रको लागि राम्रो समय हो र विश्वभर नै अर्थतन्त्र सुधार हुँदा नेपाल पनि त्यसमा सहभागि हुन्छ जस्तो लाग्छ ।
अब नेपालमा के के सुधार गर्नुपर्छ जस्तो देख्नुहुन्छ र के सुझाव दिनुहुन्छ ?
बैंकिङ् क्षेत्रको सामाजिक खर्च क्रेडिटमा हेर्दा जोखिमलाई हेर्नुपर्छ । जोखिममा नन पपÞर्mर्मिङ्ग लोन (एनपीएल), (नन पपÞर्mर्मिङ्ग एसेट पनि भनिन्छ) त्यो कति छ त बैंकिङ् क्षेत्रमा भन्ने वास्तविक मूल्यांकन हुनुपर्यो । र यसलाई व्यवस्थापन गर्नुपर्छ जस्तो लाग्छ । हामीसँग धेरैवटा केशहरु छन् । अन्तर्राष्ट्रिय रुपमा हेर्दा पनि अमेरिकामा नै २००८–०९ को आर्थिक संकटलाई हेर्ने हो भने यति विकराल रुप लियो कि त्यो खालको बैंकिङ् क्षेत्रको प्रभावले पूरै अर्थतन्त्र नै धरासायी बनाइदियो । यसलाई राम्रो तरिकाले हेर्नुपर्छ ।
यसलाई कहाँ लगेर जोड्छु भने आजका दिनसम्म पनि बैंकहरुले अन ब्यालेन्ससिट ल्याण्डिङ गरिरहेका छन् । इच्छाले होइन, दैनिक कामले गर्दा हो । दैनिक फ्रेमवर्क कहाँ आउनुपर्यो भने भोलिका दिनमा बैंकको ब्यालेन्ससिट एकदमै धेरै खराब हुँदा कसरी व्यवस्थापन गर्न सकिन्छ । बैंकको ’लोनेबल फन्ड’ फ्लोट गर्न पाइन्छ बजारमा, एसेट व्यवस्थापन कर्पोरेशनको अवधारणा लिएर आउनुपर्छ कि भन्ने कुरा बुझ्नुपर्छ । त्यस्तो फन्डहरु लिएर आउनुपर्छ कि जसले यो जोखिमलाई धानेर बस्न सक्छ । बैंकले लामो समयसम्म जोखिम उठाएर बस्ने होइन । त्यसकारण यो ठाँउमा नेपालले काम गर्नुपर्छ । बैंकिङ् क्षेत्रभन्दा पनि नियामक निकायहरुले पनि त्यो अवस्था बनाईदिनु पर्यो । सरकारी नियामक संरचनाहरुले सोच्नुपर्छ । यसपछि बजार आफैं बन्छ । त्यो मेरो एउटा सुझाव छ ।
नेपालमा लगानी भित्राउने सवालमा वित्तिय प्रणालीमा सुधार गर्नुपर्ने केही कुरा छ ?
हामीले लगानी सम्मेलनहरु गर्छौ । एकदमै लगानीलाई आकर्षण गर्ने प्रयास गर्छौ । तर जहिले पनि बाहिर गएर यो मेरो प्रोजेक्ट यति लगानीको छ, यसमा यति लगानी गर्नुपर्यो भनेर भन्न मिल्दैँन जस्तो लाग्छ । कहाँ जानुपर्यो भन्दा सबै लगानी एउटैलाई गर भन्नुभन्दा पनि जोखिमलाई हेरेर, योजना बनाएर काम गर्न सक्यो भने लगानी आकर्षण गर्न सकिन्छ । अहिलेसम्म हाम्रो संस्कार भनेको एउटालाई लोन दिएर त्यो पैसा बैंकमा १०–२० वर्षसम्म राख्ने गरेको पाइन्छ । यसले बैंकलाई जोखिममा राख्ने गर्छ ।
त्यो लोन एउटा यस्तो होस कि जस्तो– उदाहरणका लागि इन्स्योरेन्सको दायित्व लामो समय छ अथवा दिगो रुपमा जान सक्छ । त्यसमा मैले लगानी गर्न सके भने मेरो बैंकको ब्यालेन्स सिट त खुल्यो नि । अर्को ठाँउमा लगानी गर्न सक्छु र पूरै मध्यस्थकर्ता मात्र बन्नसक्छु भन्ने हुन्छ । यस्तो खालको परम्परा विकास हुनुपर्छ । यसका लागि वातावरण बनाइदिनुपर्छ । उपकरणको विकास गरेर, लगानी गर्न सहज बनाएर हुन्छ कि कसरी हुन्छ त्यसमा काम गर्नुपर्छ । हामीसँग आकर्षक प्रोजेक्टहरु छन् । हामीले राम्रो रिटर्न दिन सक्छौ तर अझै यसलाई राम्रो तरिकाले प्रस्तुत गर्ने हो भने धेरै लगानी आकर्षित गर्न सक्छौ जस्तो लाग्छ ।
विराटनगरदेखि अमेरिकासम्म तपाईंको बैंकिङ्ग क्षेत्रको यात्रा कसरी संभव भयो ? आज तपाई जुन क्षेत्रमा हुनुहुन्छ त्यहाँसम्म पुग्ने वातावरण कसरी बन्यो ?
म जन्मेको विराटनगर पोखरियामा हो । मैले १० कक्षासम्म त्यहीं पढेको हुँ । त्यसपछि आइएससी सेन्टजेभियर्स कलेज माइतीघरबाट गरेको हुँ । त्यसपछि स्नातक तह पढ्नका लागि म अष्ट्रेलिया गए । आइएससी गर्ने बेलासम्म फिजिक्स पढ्छु भन्ने थियो । आएससी सकेपछि ट्रेड डिप्लोम्याट बन्छु भन्ने दिमागमा आयो । अष्ट्रेलिया गएर इकोनोमिक्स पढ्ने भन्ने कुरा आयो तर त्यहाँ गएपछि म्याथ कडा पढ्नुपर्ने रहेछ । म्याथ चाहिँ पढछु भनेर सुरु गरियो । पछि एक समय अमेरिका जाने मौका मिल्यो ।
अष्ट्रेलियाबाट नै अष्ट्रेलियन स्टुडेन्ट भएर जाने मौका मिल्यो । त्यहाँको बैंकहरु हेर्न पाउँदा र बैंकिङ्ग कल्चर हेर्न पाउँदा धेरै कुरा बुझ्ने मौका मिल्यो । खासगरी त्यहाँको वाल स्ट्रिट एक्सपिरियन्स गर्न पाउँदा बैंकर नै बन्ने हो भने यहाँ आएर बन्नुपर्ने रहेछ भन्ने कुराले जित्यो । त्यसपछि म अध्ययनका लागि न्यूयोर्क विश्वविद्यालय गएँ । त्यहाँबाट फाइनेन्सियल इन्जिनियरिङमा मास्टर्स गरें । त्यतिबेलासम्म मलाई थाहा थिएन फाइनेन्सियल इन्जिनियरिङ भनेको के हो भनेर । सुनेको पनि थिइन । विस्तारै सिटी ग्रुपमा काम गर्ने मौका मिल्यो । सिटी ग्रुपमा ग्लोबल बैंकिङ डिर्पाटमेन्टको भाइस प्रेसिडेन्टसम्म भएर निक्कै समय काम गरें । त्यो बेला एसिया प्यासिफिकमा पनि विग पोर्टफोलियो भएका मेक्सिको, कोरिया, सिंगापुर लगायतका देशहरु हेर्थे । पछि बुझ्दै जाँदा फाइनेन्सियल इन्जिनियरिङमा पनि क्रेडिट इन्स्ट्रुमेन्ट पो मेरो क्षेत्र रहेछ भन्ने बुझें । त्यसमा पनि इन्भेष्टमेन्ट स्ट्राटेजी कोरमा काम गरें । क्रस रिभरबाट ईन्भेष्टमेन्ट स्ट्राटेजीको विजनेस हेर्ने गरी आउनुपर्यो भनेर प्रस्ताव आयो । अनि गए । अहिले त्यहीँ क्रस रिभर बैंकमा मात्रात्मक रणनीतिकहरूको प्रमुखको रूपमा कार्यरत छु ।
सुरुम सिटी ग्रुपमा प्रवेश गर्दा कुन प्रक्रियाबाट जानुभयो ?
प्रतिस्पर्धाबाटै हो । त्यतिबेला क्रस रिभरले ग्लोबल मोड्लिङ फंक्शन विस्तार गर्दै थियो । उनीहरुलाई त्यो फंक्शनभित्र मेक्सिको हेर्ने भाइस प्रेसिडेन्ट चाहिरहेको थियो । त्यसमा म खुला प्रतिस्पर्धाबाट छनोट भएँ ।
अहिले नेपाली विद्यार्थीहरुमा प्लस टू सक्ना साथै विदेश जाने दर बढ्दो छ । यसलाई कसरी हेुर्नहुन्छ ?
यो नेचुरल प्रोसेस हो जस्तो लाग्छ । ग्लोबलाइजेशनको एउटा परिणाम हो जस्तो लाग्छ । म पनि आजभन्दा १५–१६ वर्ष अगाडि त्यसरी नै आएको हुँ । यसले डायस्पोरालाई भाइब्रेंट बनाउँछ, ग्लोबली । नेपाल ग्लोबल स्केलमा के हो, के लिएर आउँछ भन्ने कुराले नेपाललाई परिभाषित गर्छ । हाम्रो डायस्पोरा ग्लोबल स्केलमा, डिसिजन मेकिङ प्रोसेसमा, ठुलो संस्थाहरुमा नेतृत्वदायी भुमिकामा पुग्नु भनेको नेपालको लागि राम्रो कुरा हो ।
नेपालको विकासको लागि राम्रो कुरा हो । भारतलाई हेर्ने हो भने सर्भिस सेक्टरमा वान वफ दी विग इकोनोमी किन बन्न सक्यो भन्दा त्यो डायस्पोराकै कारण हो । ७० र ८० को दशकमा भारतबाट जो पढ्न जानु भएको थियो, उहाँहरु आजभन्दा ३० वर्ष अगाडि नेतृत्वदायी भुमिकामा पुग्नुभयो । विश्वबजारमा उहाँहरुको भूमिकाले भारतलाई धेरै फाइदा भइरहेको छ । त्यसैले, अहिले नेपालबाट पढ्न विदेश जानु भएकाहरुलाई त्यस हिसाबले पनि हेर्नुपर्छ । सम्भावना नभएको भन्ने नै हुँदैन । म हरेक पटक नेपाल आउँदा प्रोत्साहित भएर आउँछु । म नेपालमा ह्यभीली ईन्भेष्टेड छु । आजभन्दा पाँच वर्ष अघि र आज हेर्नुहोस नेपालमा धेरै काम भएको छ । माइग्रेशन रोकेर रोकिने कुरा होइन । त्यसैले माइग्रेसन रोकाउनु छ भने नेपालले इन्गेज हुने कुरा दिनुपर्छ ।
त्यसोभए विदेशमा बैंकिङ क्षेत्र पढेका वा अन्य विषय अध्ययन गरेका युवाहरुलाई नेपालका संभावनाबारे के भन्न चाहनुहुन्छ ?
मैले अगाडि पनि भने. । म हरेक पटक नेपाल आउँदा प्रोत्साहित र उत्साहित भएर आउँछु । नेपाल मताधिकार अर्थव्यवस्था भएको मुलुक हो । नेपालको विकासको लागि हामीहरुले आईडियाहरु लिएर आउन सक्छौं । त्यसैले त्यतातिर ट्याप गर्नुपर्छ । डायस्पोरामा हुुनुभएका साथीहरु नेपालकै बारेमा सोचिरहनु भएको छ । उहाँहरुलाई म यतिमात्र भन्नसक्छु–नेपालमा सम्भावना छ ।