शीर्षकहरू

एनएलजी इन्स्योरेन्स हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

एनएलजी इन्स्योरेन्स हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले मंसिर ११ गतेदेखि निष्कासन गरेको ६२ दशमलव ५६ प्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले यस अघि पुस १ गतेसम्म निष्कासन मिति तय गरेकोमो १५ दिन अवधि थप गर्दै पुस १६ गतेसम्मको मिति कायम गरेको हो । 

यो हकप्रद शेयर निष्कासन प्रयोजनका लागि कात्तिक २७ गते एक बुक क्लोज गरिएको छ । बुक क्लोजको आधारमा कात्तिक २६ गतेसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ९६ करोड ३१ लाख २२ हजार २२ रुपैयाँ बराबरको ९६ लाख ३१ हजार २२० दशमलव २२ कित्ता हकप्रद शेयर निष्कासन गरेको हो । हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपाल लिमिटेडले कम्पनीलाई समयमा वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त सुरक्षित रहेको संकेत गर्ने इक्राएनपी इस्यूअर रेटिङ्ग ए माइनस प्रदान गरेको छ ।
 
कम्पनीको हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ । बिक्री प्रबन्धकसँगै एनएलजी इन्स्योरेन्सका केन्द्रिय तथा क्षेत्रिय कार्यालयहरु र लक्ष्मी सनराइज बैंकका काठमाडौँ उपत्यका बाहिरका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्ने व्यवस्था रहेको छ ।

साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ । अनलाईन आवेदनका लागि मेरो शेयर समेत प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ । यस कम्पनीलाई २ अर्ब ५० करोड रुपैयाँ चुक्तापूँजी कायम गर्नुपर्ने बाध्यात्मक अवस्था छ । यो हकप्रद विक्री पछि कम्पनीको चुक्तापूँजी २ अर्ब ५० करोड २६ लाख ५७ हजार रुपैयाँभन्दा बढी कायम हुनेछ ।