मेरो जन्म काठमाडौंमा नै भएको हो । साङ्ला गाविस वडा नम्बर १ हालको तारकेश्वर नगरपालिमा जन्मिएको हुँ । तर अहिले बलम्बु बस्छु । त्यहाँ दुईवटा घर बनाएको छु । पढाई धेरै नभएपनि दश कक्षासम्म अध्ययन गरेको छु । घर छोड्दा बाह्र वर्षको थिए । म कामकै सिलसिलामा शहर आएको हुँ । यतै बस्न थालेको हुँ । त्रिचन्द्र क्याम्पस अर्थात घन्टाघरसँगको सम्बन्ध मेरो २०३७ सालदेखि नै हो । २०३७ साल साउन २१ गते त्रिचन्द्रमा प्राविधिकको रुपमा जागिरमा प्रवेश गरेको हुँ । सुरुमा ल्याबतिर काम गरें । इलेक्ट्रिकल मेकानिकतिर सामान्य ज्ञान थियो । पछि क्याम्पसमा पनि इलेक्ट्रिक क्षेत्रमै काम गर्न थालें । घन्टाघरसँगको सम्बन्ध चाहीं अलिक रोचक छ ।
०३९ सालतिरको कुरा हो । एक पटक घन्टाघरमा आगलागी भएको थियो । त्यसपछि राम्रोसँग चलेको थिएन् । त्यसबेला घडीको सुई र घन्टा बजेको सुनेर टुँडिखेलमा नेपाली सेनाले तोप पड्काउने गर्दथ्यो । आगलागी भएपछि त्यहाँ प्राविधिकको अभाव भयो । पहिला एकजना अस्थायी मिस्त्री थिए । आगलागी भएको एक डेढ बर्षपछि उहाँको म्याद थप भएन । उहाँ जानुभयो । उहाँ गएपछि घन्टाघर संचालन गर्ने प्राविधिकको अभाव भयो ।
तर त्यसको लामो समयपछि ०४४ सालमा कमलादीको प्रज्ञा भवनमा सार्क सम्मेलन हुने भएपछि एक घन्टाका लागि भएपनि घन्टाघर खोल्नुपर्ने आदेश आयो । खोल्नुप¥यो भनेर दौडधुप सुरु भयो । अन्चलाधीशको कार्यालयले कसरी चलाउने भनेर मिस्त्रीको खोजी सुरु गरेको थियो । सोहीबेलादेखि घन्टाघरसँग मेरो सम्बन्ध जोडिन पुगेको हो ।
घन्टाघरसँगको सम्बन्ध
घन्टाघर चलाउन सक्ने प्राविधिकको खोजी गर्ने काम गर्न डेढ महिनाजति लाग्यो । तर चलाउन सक्छु भन्ने कोही भेटिएन । म चाँही सबै मेसिनहरु मर्मत गर्ने काम गरिरहेको हुन्थें । जागिरका अतिरिक्त समय म यस्तै पार्ट टाइम पनि गर्थें । सार्क सम्मेलन सुरु हुन १५ दिन बाँकी थियो । सोहीबेला कतैबाट मलाई घन्टाघर चलाउन सक्छौ भन्ने प्रस्ताव आयो । मलाई आपत प¥यो । तर बच्चा बेलादेखि नै म टेक्निकल काममा रुची राख्ने गर्दथें । जुनसुकै काम पनि हुन्न नभनी हात हालिहाल्ने बानी थियो । त्यसैले मंैले सक्छु भनें । सक्छु त भनिहाले तर मैंले घण्टाघरको मेसिन देखेको थिएन । सक्छु भनेर माथि चढें । माथि जाँदा त मेसिन देखिन् । डर लाग्यो । एक दुई घण्टासम्म चारैतिर हेरेर मात्र बसिरहें ।
बस्दै गएपछि भएका यन्त्रहरु यताउता हेर्न र छुन थालें । त्यहाँ रहेको पेन्डुलम भन्ने मेसिन हल्लाए । त्यो मेसिन एक पटक हल्लाएपछि पाँचसात मिनेट चलेर बन्द हुने रहेछ । पटक पटक हल्लाए । गर्दागर्दै १३ दिन १३ रात २४ सै घण्टा त्यही माथि नै बसें ।
कति मिनेटमा कहाँनेर गएर काँटा अड्डिन्छ हेरेरै बसें । गहिरो अध्ययन गरेर १३ दिन विताए । भएका दाँतीहरु सबै गहिरो अध्ययन गरेर विताए । हुँदाहुँदा १३ दिनमा चाँही एकचोटी चलाएपछि दुईतीन दिन चल्न सक्ने बनाए । सार्क सम्मेलन कार्तिकको १९–२० गते तिर थियो । सम्मेलनपछि म तल ओर्लिए । त्यहाँ मैंले घन्टाका रोगहरु पत्ता लगाए । पछि ति पार्टहरुलाई बनाएर ल्याए र फिट गरें । त्यसपछि दुईचार महिना चल्ने भयो । त्यसपछि फेरि बिग्रिन्छ बनाउँदै जाने गरें । यसरी मेरा तीन दशक घन्टाघरमै वित्यो ।
यसरी नै घन्टाघर चलाउँदा चलाउँदै पोहोर सालसम्म अवकास लिएँ । एक वर्ष वित्यो घन्टाघरबाट विदा लिएको । जागिरे रहँदा धेरै अनुभवहरु बटुल्ने मौका मिल्यो । किनकी त्यहाँका मेसिनहरुमध्ये कतिपयलाई तारले बाँधेको छु । कुनै दाँते नै रद्द गराएको छु । जबरजस्ती पनि चलाएको छु । म त्रिचन्द्रमा प्रवेश गर्दा शिवशंकर सिंह क्याम्पस प्रमुख हुनुहुन्थ्यो । उहाँले ०३९ सालतिर अवकास लिनुभयो । झण्डै १२–१५ जना नै प्रमुख परिवर्तन भइसक्नु भएजस्तो लाग्छ । त्यसमध्ये धेरैलाई घन्टाघरबारे खासै चिन्ता लागेन् ।
दम दिए चल्छ घन्टा
काठमाडौंको घन्टाघर सन् १८९४ मा राणा प्रधानमन्त्री वीरशमशेरको शासनकालमा निर्माण गरिएको हो भन्ने मलाई थाहा छ । परम्परागत र मौलिक पाराको घन्टाघरका अधिकांश यन्त्रहरु पम्प दिएका भरमा चल्छन् । यो ब्याट्री वा बिजुलीबाट चल्दैन् । घन्टाघरको घडीमा हातैले दम दिनुपर्छ । दम दिने भनेको फलामको ह्यान्डलले मिलको चक्का घुमाएजस्तो घुमाउने हो । अर्थात कुनै कुनै ट्याक्टर गाडीलाई पनि त्यसरी नै दम दिनुपर्छ नि । जेनेटर चलाउदा पनि ह्यान्डलबाट दम दिनुपर्छ नि । त्यस्तै हो ।
त्यहाँभित्रको घडी चलाउन झण्डै ३०–३५ किलो भन्दा अझ बढी सामान उचालेजस्तो हुन्छ । दम दिएपछि ८४ फिट तल जाने र दम दिएपछि माथि आउने गर्छ । माथि पुगेपछि एक हप्ता घडी चल्छ । जति घुमायो, फलामको डल्लो जस्तो चक्का उति माथि आउँछ । यसकै भारले घडीको सुई घुम्छ र सुई सर्दै जान्छ । त्यो फलामको डल्लो पनि तल झर्दै जान्छ । घन्टा हान्नका लागि नौं वटा चक्का छन् । त्यो पनि तलबाट दम दिएर माथि उठाउने हो । क्वाटर हान्नका लागि पनि १३ वटा चक्का छन् । त्यसलाई नि दम दिएर माथि उठाएपछि एक हप्ता पुग्छ । सारै गार्हो हुने भएकाले दुईजनाले हप्ताको दुई दिन दम दिनुपर्दथ्यो । म चाहीं विग्रियो भने हेर्ने गरेको थिए । दम दिनका लागि अरुपनि साथीहरु थिए ।
कसैलाई माया छैन् घन्टाघरको
बिदेशतिरपनि यस्तो टावरहरु अर्थात घन्टाघर त हुने रहेछ । तर ति व्यवस्थित छन् रे । तर यहाँ हाम्रोमा यस्तो काम गर्नेलाई तालीम दिनुपर्छ भन्नेमा कसैले चासो दिएनन् । त्रिचन्द्र क्याम्पसमा पढेका धेरै विद्यार्थीहरु देशको उच्च पदमा पुगे तर चासो दिएनन् । विशिष्ट तहका कर्मचारीहरु, मन्त्री, प्रधानमन्त्री न्यायाधीश त्रिचन्द्रकै उत्पादन छन् । तर तिनीहरुका आँखा घडीमा पुगेन । शेरबहादुर देउवा, प्रकाशमान सिंह, गगन थापा जस्ता धेरैजना त्रिचन्द्रमै पढेका हुन् । तर तिनीहरुको आँखा कहिल्यै त्यहाँ पुगेन् ।
घण्टाघरलाई खासै खर्च त लाग्ने थिएन् । मैंले बुझेसम्म र अनुभव गरेसम्म वर्षमा दुईदेखि तीन हजार मात्र मर्मतको लागि खर्च हुन्थ्यो । एकचोटी १२ हजार रुपैंयाँ खर्च भएको याद छ ०७२ सालको भूकम्पमा घन्टाघरका धेरै संरचनाहरु भत्किएका र भाँचिएका थिए । त्यसबेला पनि बेला १५ हजार तिरेर ल्याइएको हो । पेस्की मैंले नै दश हजार रुपैंयाँ बुझेको हुँ तर पाँच हजार भुक्तानी नै भएन् । पछि क्याम्पस प्रमुखसँग विवाद भएपछि भुक्तानी भयो । घन्टाघरका लागि पैसा नभएर होइन् । सकेसम्म जिम्मा नलिउ भन्ने सोच भएकाले समस्या आउने गरेको हो । पछि पछि मिडियामा कुरा आउन थालेपछि सबैको नजर परेको हो । मेरै अन्तरवार्ताका कारण पनि धेरैलाई प्रेसर परेको हुनुपर्छ ।
एकपटक अन्नपूर्ण पोष्टमा ‘घाँडो घण्टाघर’ शिर्षकमा समाचार प्रकाशित भएपछि महानगरपालिकाले चासो लिएको थियो । महानगरले छलफलका लागि भनेर त्यसबेला क्याम्पस प्रमुख हरि थपलियालाई समेत बोलाइएको थियो । मलाई पनि बोलाइएको थियो । छलफलमा महानगरपालिकाले अबदेखि घण्टाघर आफैं हेर्ने भनेको थियो । सम्पूर्ण जे जति मर्मत गर्नुपर्छ त्यो हामी गर्छौं भन्नुभयो । र सबै कुराको राय सल्लाह लिने काम भयो । त्यसपछि अवकाश हुनुभन्दा अगाडि एकजना मान्छे हामी दिन्छौं उसले पनि तपाईंले जस्तै चलाउन सक्ने बनाउनुपर्यो । तालीम दिनुपर्यो भन्नुभएको थियो । त्यसको हप्ता दिनमै महानगरका कर्मचारीहरु आएर रंगरोगन गरेका थिए । तर रंगरोगन गरेर फर्किएकाहरु आजसम्म फेरि घन्टाघरमा पाइला टेकेको थाहा छैन् ।
३५ बर्ष खिचापोखरीमा डेरा
हुनत घण्टाघरको लागि आवश्यक पर्ने सामानहरु सबै पाइँदैन् । सबै आफैंले बनाउनुपर्छ । कुनै आफूले बनाउन नमिल्ने चाँही बनाएर ल्याउनुपर्छ । कुन बेला विग्रिन्छ टुंगो हुँदैन् । उसबेला पर्याप्त गाडीहरु थिएनन् । बाटोघाटो थिएन । घर टाढा भएकाले म खिचापोखरीको एउटा अग्लो घरमा डेरा गरेर बसेको थिए । त्यो बेला म बस्ने घर ६ तलाको थियो । त्यही घरको छतमा उक्लिएर राति सुत्नु भन्दा अगाडि घण्टाघरको घण्टी सुन्ने गर्थें । बिहानै सबेरै उठेर घन्टाघरमै पुग्थें । करिब ३०–३५ बर्ष सोही घरमा विताए । सायद पिंजडामा थुनिए जस्तै जीवन थियो मेरो । जुनसुकै बेला घन्टाघर विग्रिने भएकाले तयारी अवस्थामा बस्नुपर्दथ्यो । महिनौं महिनासम्म घर जान पाउदिन थिएँ ।
एक पटक प्रेस लो भएर ढलेछु । त्यसपछि घर परिवारले गाली गर्न थाले । अनिमात्र बल्ल घर जान थालेको हुँ । म बस्नका लागि डेरामै बसेको हो । तर सधैं सत्य नै बोल्ने भएर होला म सँग कसैले कोठा भाडा मागेन । जुन घरमा बसें त्यो घरमा विग्रिएका सामनाहरु बनाइदिन्थें । बिग्रेका कुराहरु मर्मत गर्थे र मर्मत गरेको पैसा लिइँदैन थिए । उनीहरु पनि भाडा माग्दैन थिए । मैंले ४२ वर्ष प्राविधिक वा इलेक्ट्रिसियनकै रुपमा काम गरें । सुरुमा मैंले जागिर खाँदा मेरो तलव महिनाको १५० रुपैयाँ थियो, अवकाश हुँदाखेरी ४४ हजार चानचुन पुगेको थियो।
बेबारिसे हुने चिन्ता
तीन दशक संरक्षण गरेर राखेको घण्टाघर पूरै वेवारिसे हुने चिन्ता लागिरहन्छ । कसैले जिम्मा जिम्मा लिनुपर्छ भन्ने लाग्छ । कसैले जिम्मा लिएर जर्गेना गर्नुपर्छ । किनभने उ बेला घडीको महत्व थियो । अहिले त मान्छेको हातहातमा घडी र खल्तीमा मोबाइल छ । समयको महत्व छैन । तर घण्टाघर ऐतिहासिक भएकाले जोगाएर राख्नु हामी सबैको कर्तव्य हो । यो ऐतिहासिक सम्पदालाई पुरातत्व विभागले हेर्नुपर्ने हो तर हेरेन । सय वर्ष नपुगी पुरातत्वले पनि नहेर्ने भनेको रहेछ । बीबीसीले अन्तरवार्ता लिँदा पनि पुरातत्वले जिम्मेवारी लिनुपर्छ भनेको थियो । तर भएन ।
अहिले प्रवलीकरण भइरहेको घन्टाघर पहिलाको जस्तै निर्माण हुन्छ । तर यहाँका सामग्रीहरु सुरक्षित हुन्छन् कि हुँदैनन् भन्ने चिन्ता छ । यतिका बर्ष घन्टाघरको सेवामा बिताएको मलाई भर्खरै मात्र सबैले चिन्न थाल्नुभएको छ । घन्टाघरलाई चिन्नु होला कि नहोला भन्ने चिन्ता छ । तर हाम्रो समाजमा कामको मूल्यांकन हुँदैन । घण्टाघरलाई के गर्ने, कसरी अगाडि बढाउने भनेर कर्मचारी दिएको भए उसलाई सिकाएर तयारी अवस्थामा राख्न सक्थें ।
अहिले दुईचार दिन, दुई चार महिना सिकाएर सिक्ने कुरा होइन् । दुई चार वर्ष सिकाउन नै लाग्छ । यसलाई सरकार पक्षबाट कसैले वास्ता गरेको छैन । नगरपालिकाले पनि वास्ता गरेको छैन । अब क्याम्पसले आफ्नो हाताभित्र रहेर तलव दिलायो तर संरक्षणमा चासो दिएन । मैंले ३ सय ६५ दिन नै ड्यूटी गरें । २४ घण्टा नै हेनुपर्छ भनेर मौखिक सम्झौंता भएका हुनाले रातदिन खटें । जिम्मेवारी लिएदेखि काठमाडौं बाहिर बसेको भनेको अवकास लिएपछि मात्र हो । नत्र कुवाको भ्यागुतो जस्तै म घण्टाघरकै रेखदेखमा हुन्थें । साँच्चै भन्ने हो भने त एक किसिमले पिंजडामा बसे जस्तो गरी ३५ बर्ष कटाएँ । एक किसिमले गर्व पनि लाग्छ । घन्टाघरसँग मेरो नाम जोडिएकाले खुशी पनि छु ।
किरिया बस्दा मात्र विदा
यतिका बर्ष घन्टाघरको जिम्मेवारी लिएर बसें । भाग्यले भन्नुपर्छ विरामी भएर हस्पिटल भर्ना हुनुपरेको रेर्कड अहिलेसम्म छैन् । त्यति ठूलो बिरामी नि परिएको छैन् । भगवानको कृपा भनौं अहिलेसम्म सकुशल छु । नत्र, तीन सय ६५ दिनमा तीन सय ६४ दिनै क्याम्पसमा हाजिर भएको छु । आमाको निधन भएका बेला १३ दिन बिदा बसें । बुवाको मृत्यु भएका बेलामा १३ दिन घर बसें । बुवा बितेको बेलामा त घन्टाघर बन्द नै भयो । आमाको किरियामा बसेका बेलामा चाहिँ फाट्टफुट् चल्या थियो । आमा निधन भएको ०५१ सालमा हो । बुवाको निधन ०७९ सालमा हो । बीचमा छोरालाई नी दुई चार महिना ल्याएर सिकाएको थिएँ । बन्द भएको बेलामा गएर चलाइदिनु भनेर सिकाएको हुँ । पछि छोराले नि इच्छा राखेन् ।
मेरो इज्जत नै घण्टाघरमा जोडिएको छ । म बाँचुन्जेल घण्टाघर चलिरहोस भन्ने लाग्छ । घडी चलिरहेको देख्न पाईयोस भन्ने ठुलो ईच्छा छ । ईच्छा भएर र आफूले चाहेर पनि कतिपय कुराहरु हुँदो रहेनछ । पुर्याउन सकिदो रहेनछ । अब म सँधै गएर बस्न नि सक्दिन । कुनै निकायले जिम्मा लिएर, मान्छे दिन्छौ, सिकाइ दे भनेर जिम्मा दिएमा तयार छु । अझैपनि म गएर सिकाउन तयार छु । मैंले त्रिचन्द्र अर्थात घन्टाघरमै जागिर खाएर छोराछोरी पढाए । काठमाडौं आएर र यहीं बसेर दुःख सुख जीवन गुजारें । बुबा–आमाबाट अंश लिएको चार बर्ष मात्र हुँदैछ । नत्र पहिलै मैंले घर घरेडी जोडिसकेको थिए । आफ्नै पसिनाले आफ्नो बन्दोबस्ती गरिसकेको थिए ।
अब सक्दिन्
मलाई अब घण्टाघरको जिम्मेवारी दिएपनि मेरो उमेरले सक्दैन । म ६५ वर्षको भइसकें । घण्टाघरको माथि तल जान आउन नै म सक्दिन । ८०–९० फिट माथि छ । तलमाथि गर्नै गार्हो हुन्छ । तर पनि जिम्मेवारी लिने कुनै निकाय आयो भने चाँही सिकाइदिन म अझै पनि सक्छु । पुरानै घन्टाघर चलाउने हो भने सिकाएरै मर्न तयार छु ।
घण्टाघरमा काम गर्दा उच्च पदका मानिसहरुसँग खासै भेट भएन् । कसैलाई चासो नै छैन् । त्यसमाथि म एउटा कामदार मात्र हुँ । भेट्न जरुरी ठानेन् होला । म भन्दा अगाडि रत्नमान भन्ने व्यक्ति घन्टाघरको रेखदेखमा हुनुहुन्थ्यो । उहाँ नि पाको हुनुभयो होला । रामेश्वर ढकालले पनि काम गर्नुभएको हो । कर्मचारी नहुँदा इन्डियाबाट मिस्त्री ल्याएर पनि घन्टाघर चलाइएको थियो रे । त्यो सँधै संभव नहोला ।
अहिले घन्टाघरको रेट्रोफिटिङ गरिदैछ । काम सकिएपछि महानगरले चासो लियो भने पुनःसुचारु होला नत्र घण्टाघर सँधैका लागि बन्द पनि हुनसक्छ । पुरानै यन्त्रहरु राखेर घण्टाघर चलाउनलाई मिस्त्री तयार गर्नलाई अब निकै कठिन छ । तरपनि असम्भव भन्ने कुरा छैन् । हुनत इलेक्ट्रिक घडी ल्याएर राख्नपनि सक्छन । यसै भन्न सकिदैन । ऐतिहासिक र पुरातात्वीक महत्वको भएकाले पुरानोलाई नै चलाउनुपर्ने हो । (घन्टाघरका अनुभवी र अवकास प्राप्त प्राविधिक गणेश सापकोटासँग नेपाल न्यूज बैंकसँग गरिएको कुराकानीमा आधारित)