काठमाडौँ । नेपाल राष्ट्र बैंकले गत पुस १० गते कर्णाली विकास बैंकलाई 'समस्याग्रस्त संस्था' घोषणा गर्यो । पुस ११ गतेदेखि नेप्सेमा यो विकास बैंकको कारोबार स्थगन भयो । समस्याग्रस्त घोषणा भएपछि नेप्सेमा कारोबार रोकिनुलाई केहीले स्वभाविक मानेका छन् भने केहीले यसमा आपत्ति जनाएका छन् ।
यसै विषयमा पूर्वबैंकर परशुराम कुँवरको विचार–
कर्णाली विकास बैंकको कारोबार नेप्सेमा स्थगन गर्न हुन्थ्यो?
“बजार अर्थतन्त्र” का हिसाबले सिद्धान्ततः कारोबार रोक्न हुँदैनथ्यो । बजारले नै यसको मूल्य निर्धारण गर्न दिनपर्थ्यो । तर, यो सिद्धान्त तब काम लाग्छ, जब बजार विवेकपूर्ण र तर्कपूर्णले चल्छ । केही समयअघि राष्ट्र बैंकले यो विकास बैंकलाई कारोबार गर्न रोक्यो, बैंक तथा वित्तीय संस्थाहरूका लागि राष्ट्र बैंकको यस्तो कार्यवाही अति नै गम्भीर हो तर नेप्सेमा यो विकास बैंकको उच्च भोल्युमका साथ सकारात्मक सर्किट लेभलमा कारोबार भयो । यो अस्वाभाविक थियो ।
यदि त्यो बेलामा यसको कारोबार स्वाभाविक भएको भए अहिले “समस्याग्रस्त” घोषणा हुँदा पनि नेप्सेमा यसको कारोबार स्थगन हुँदैन थियो होला वा गर्न पर्दैन्थ्यो होला!
स्थगनको असर
जब “बजार” तर्कसंगत किसिमले चल्दैन, राज्यले हस्तक्षेप गर्छ र राज्यको यस्तो हस्तक्षेपरुपी डन्डाले कहाँ कस्लाई चोट लाग्छ थाहा हुन्न । पीडित हुन नपर्नेहरूलाई पनि यसले असर गर्न सक्छ । संसारभरि यस्तै हो । कर्णाली विकास बैंकको कारोबार नेप्सेमा स्थगन भएपछि आधारभूत (Fundamentals) रुपमा अति नै कमजोर भएका कम्पनीहरू जसको मूल्य विगतमा “डिमान्ड-सप्लाई र लो क्याप” को नाममा अस्वाभाविक रुपमा मूल्य बढाइएका थिए, ती कम्पनीहरूको मूल्य करेक्शन हुनु अपेक्षित थियो र मूल्य घटेको कुरा स्वाभाविक रुपमा लिन सकिएला र कारोबारीहरूले पाठ सिकेको रुपमा पनि लिन सकिएला । तर आधारभूत (Fundamentals) रुपमा अति नै राम्रा विकास बैंक र फाइनान्स कम्पनी लगायतका कम्पनीहरूको मूल्य पनि निकै घटेको छ ।
कारोबारीहरूले “पाठ सिकेको” भने पनि पाठ सिकेको वा सिक्ने जस्तो लाग्दैन । वित्तीय विवरण अनुसार पूंजी पर्याप्तता र निष्क्रिय कर्जाका हिसाबले कर्णाली विकास बैंकभन्दा अति नै कमजोर संस्थाको मूल्य दिनभर घटिरह्यो तर अन्तिम मिनेटमा ८% भन्दा बढीले मूल्य बढेको छ । यसलाई कसरी हेर्ने? यो पटक्कै स्वाभाविक देखिँदैन!
प्राविधिक विश्लेषण:
सिद्धान्ततः अर्थतन्त्र र कम्पनीहरूको आधारभूत सूचना (Fundamental Information) को जानकारीका आधारमा लगानीकर्ताहरूले कम्पनीहरूको शेयर किन्ने वा बेच्ने वा किन्ने / बेच्ने निर्णय होल्ड गर्ने हो । लगानीकर्ताहरूको किन्ने / बेच्ने / होल्ड गर्ने काम स्टकको चार्टमा मूल्य र भोल्युमको रुपमा परिलक्षित हुन्छ । स्टक चार्टमा देखिने मूल्यले नै विभिन्न संकेतहरू (Indicators) र चार्ट प्याटर्न बनाउँछ ।
यसरी आधारभूत सूचनाले प्राविधिक चार्ट बनाउँछ । लगानीकर्ताहरूले आधारभूत सूचना जानकारी राखेर विवेकपूर्ण र तर्कपूर्ण लगानी गर्ने बजारमा लगानीकर्ताहरूले स्टकको चार्ट, संकेतहरू र चार्ट प्याटर्न मात्र विश्लेषण गरेर लगानी गर्दा पनि आधारभूत सूचना विश्लेषण गरेर लगानी गर्ने वा नगर्ने सरहको हुन्छ ।
तर, नेपालमा कतिपय यस्ता कम्पनीहरू छन् जसको लामो समयसम्म साधारण सभा भएको छैन, कतिपय कम्पनीहरूले त्रैमासिक विवरण पनि छापेका छैनन् अर्थात् ती कम्पनीहरूमा के भईरहेको छ भन्ने आधारभूत सूचना केही पनि उपलब्ध छैन, कतिपय कम्पनीहरूको प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीहरूले राम्रो गरेका छैनन् र विगतको प्रवृत्तिको आधारमा तिनीहरूले राम्रो गर्ने संभावना पनि छैन ।
यस्ता आधारभूत रुपमा अति नै कमजोर कम्पनीहरूको स्टकको मूल्य “उच्च डिमान्ड / न्यून-सप्लाई र लो क्याप” को नाममा आधारभूत रुपमा धेरै नै बलिया कम्पनीहरूको शेयरको मूल्यको तुलनामा अचाक्ली उच्च तहमा बढाइएको छ । अनि यस्तै कम्पनीहरूको प्राविधिक विश्लेषण गरिन्छ र विश्लेषण गर्दा सरकार / अर्थमन्त्री परिवर्तन हुने वा नहुने, मौद्रिक नीतिमा कुनै कुरा आउने वा नआउने जस्ता हल्लाहरूको कथा जोडेर सोझासाझा कारोबारीहरूलाई भ्रममा पारिन्छ । सरकार वा अर्थमन्त्री परिवर्तन हुँदा आकाशै खस्छ वा आफ्नो सर्वस्व हरण हुन्छ कि जस्तो भ्रम छरिन्छ ।
यस्तो खालको उच्च जोखिमयुक्त कारोबार गर्दा फाइदा त होला, तर उच्च नोक्सान हुन पनि सक्छ भन्ने कुरा ध्यानमा राख्नुपर्छ । तपाईं जतिसुकै राम्रो प्राविधिक विश्लेषक भए पनि यस्ता आधारभूत रुपमा अति नै कमजोर कम्पनीहरूको स्टकको प्राविधिक चार्ट बिग्रन कत्ति पनि समय लाग्दैन । मैले भनेको छु, गाई हाम्रो राष्ट्रिय जनावर हो, हिन्दूहरूको लागि त गौ माता पनि हुन् । गाई मोटो छ भन्दैमा गाईको मासु खाईदैन । त्यसरी नै, आधारभूत सूचना सन्तोषजनक नभएको वा उपलब्ध नभएको कम्पनीहरूको शेयरमा फाईदा हुन्छ भन्ने हल्लाको भरमा, फलानो “खेलाडी” लागेको छ भन्ने हल्लाहरूको भरमा अन्धकार कोठामा ढुंगा हाने जस्तो लगानी गर्दा भारी नोक्सान पनि हुन सक्छ ।