शीर्षकहरू

सरकारले व्यक्तिको जग्गा लुटेर राखेको छ, झूटो आश्वासन बाँडेको छ : बालेन

काठमाडौँ । काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाह(बालेन)ले अहिले दुई तिहाइको सरकार भए पनि केही काम गर्न नसकेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित प्रथम कोटेश्वर महोत्सव–२०८१ उद्घाटन समारोहमा बोल्दै उनले ५० औं वर्षदेखि जग्गाको समस्याका कारण मुआब्जा नपाएको भन्दै सरकारले काम प्रकृयामा छ भनेर झूटो आश्वासन मात्र देखाएको बताए । 

उनले भने,‘५० औं वर्षदेखि जग्गाको समस्या समाधान भएको छैन । त्यही कारण मुआब्जा प्राप्त भएको छैन । यसपाली त बहुमत भएको दुई तिहाईको सरकार छ । त्यही पनि केही गरेको छैन । कोही नेताले तपाईंहरुको काम प्रकृयामा छ । काम हुँदैछ भनेर आश्वासन दिन आउनुभएको छ भने नपत्याउनु होला । कुनै प्रोसेस भएको छैन्  । केही काम भएको छैन ।’

उनले सरकारले व्यक्तिको जग्गा लुटेर राखेको भन्दै अहिले सरकारमा प्रधानमन्त्री,  गृहमन्त्रीदेखि अर्थमन्त्रीसम्म आफ्नै हुँदा पनि काम भएन भने कहिल्यै नहुने बताए । उनले भने,‘सरकारले व्यक्तिको जग्गा लुटेर राखेको छ । यसको मुआब्जा दिन कुनै पनि प्रोसेस भएको छैन । अहिलेको दुई तिहाईको सरकारले चाहेमा जे पनि गर्न सक्छ । गृहमन्त्री आफ्नै ,अर्थमन्त्री आफ्नै, पैसा आफ्नै, स्रोत साधन आफ्नै, सबै आफ्नै, अझ वडा समिति पनि आफ्नै छ । अहिले पनि यो काम भएन भने कहिले पनि हुँदैन् ।’