शीर्षकहरू

पाँच महिनामा जीवन बीमा कम्पनीको व्यापार ६५ अर्ब बढी, कुनले कति कमाए?

पाँच महिनामा जीवन बीमा कम्पनीको व्यापार ६५ अर्ब बढी, कुनले कति कमाए?

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को मंसिर महिनासम्ममा जीवन बीमा कम्पनीहरूले ६५ अर्ब ७४ करोड १८ लाख रुपैयाँ बराबरको व्यवसाय गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार यो रकम गत आवको सोही अवधिको तुलनामा ६.४७ प्रतिशत बढी हो। गत आवको मंसिर महिनासम्ममा कम्पनीहरूले ६१ अर्ब ७४ करोड ७१ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका थिए।

समीक्षा अवधिमा जीवन बीमा कम्पनीहरूले प्रथम बीमा शुल्क बापत १२ अर्ब ४७ करोड १ लाख रुपैयाँ संकलन गरेका छन्। वैदेशिक रोजगार बीमा बापत १ अर्ब १८ करोड ९७ लाख रुपैयाँ र नवीकरणमार्फत ५२ अर्ब ८ करोड १९ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन्।

तथ्यांकअनुसार अधिकांश कम्पनीहरूले व्यापारमा वृद्धि भएको छ। तर हिमालयन लाइफ र राष्ट्रिय जीवन बीमा कम्पनीको व्यवसाय भने घटेको देखिन्छ। यी दुई कम्पनीहरूको व्यापार क्रमशः ०.११ प्रतिशत र ५०.१० प्रतिशतले घटेको छ। हिमालयन लाइफ इन्स्योरेन्सले समीक्षा अवधिमा ६ अर्ब ७९ करोड १४ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ भने राष्ट्रिय बीमा कम्पनीले २ अर्ब २५ करोड ८१ लाख रुपैयाँ आर्जन गरेको छ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले समीक्षा अवधिमा १८ अर्ब ७६ करोड ४८ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ। जुन कुल व्यवसायको २८.५४ प्रतिशत हो। नेपाल लाइफले गत आवको सोही अवधिको तुलनामा ११.९६ प्रतिशत बढी बीमाशुल्क संकलन गर्न सफल भएको छ।

नेशनल लाइफले पनि ७ अर्ब ९८ करोड ६८ लाख रुपैयाँ बराबरको व्यवसाय गरेका छन्। जुन गत आवको सोही अवधिको तुलनामा ११.५१ प्रतिशतले बढी हो। रकमको आधारमा तेस्रो स्थानमा रहेको लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले ७ अर्ब ६६ करोड ३६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ।

व्यवसाय वृद्धिका हिसाबले रिलायवल नेपाल जीवन बीमा कम्पनीले २५.४४ प्रतिशतको वृद्धि हासिल गर्दै १ अर्ब ९२ करोड १५ लाख बीमाशुल्क आर्जन गरेको छ। दोस्रो स्थानमा रहेको सिटिजन लाइफको व्यापार १८.५९ प्रतिशत बढेर २ अर्ब ६५ करोड ५४ लाख रुपैयाँ पुगेको छ।

प्रभू महालक्ष्मी लाइफको व्यापार १५.९० प्रतिशतले बढेर १ अर्ब ९४ करोड २५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ। आइएमई लाइफको बीमाशुल्क संकलन १५.७० प्रतिशतले बढेर १ अर्ब ८९ करोड ४९ लाख रुपैयाँ पुगेको छ। सूर्यज्योतिको १५.५७ प्रतिशतले बढेर ३ अर्ब ९९ करोड ६८ लाख रुपैयाँ पुगेको छ।

त्यस्तै, एशियन लाइफको व्यवसायमा ११.०९ प्रतिशत वृद्धि भएको छ। कम्पनीले समीक्षा अवधिमा ३ अर्ब ३६ करोड ४ लाख रुपैयाँ बीमाशुल्क संकलन गर्न सफल भएको छ। सानिमा रिलायन्स लाइफले ९.६३ प्रतिशत वृद्धि गरेर २ अर्ब ५८ करोड ७५ लाख रुपैयाँ संकलन गरेको छ। सन लाइफले ८.७१ प्रतिशत वृद्धि गर्दै १ अर्ब ५७ करोड ५६ लाख रुपैयाँ आर्जन गरेको छ भने र मेट लाइफले ६.३५ प्रतिशत वृद्धि गर्दै २ अर्ब ३३ करोड २० लाख रुपैयाँको व्यापार गरेको छ।