शीर्षकहरू

बीमा प्राधिकरणका अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन

बीमा प्राधिकरणका अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन

काठमाडौं । सरकारले नेपाल बीमा प्राधिकरणका अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले मङ्गलबारको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै उक्त जानकारी दिए । उनका अनुसार राष्ट्रिय योजना आयोगका सम्बन्धित क्षेत्र हेर्ने सदस्यको संयोजकत्वमा अर्थ मन्त्रालयका सचिव र ज्योतिचन्द्र ओझा रहेको सिफारिस समिति गठन गर्ने निर्णय गरिएको हो । 

बैठकले शिक्षक सेवा आयोगको एक जना महिलासहित दुई जना सदस्यहरूको नियुक्तिका लागि सिफारिस गर्न समिति गठन गरेको छ । लोकसेवा आयोगका अध्यक्षको अध्यक्षतामा त्रिभुवन विश्वविद्यालयको उपकुलपति र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सदस्य रहेको उक्त समिति गठन गर्ने निर्णय गरेको हो । 

यसैगरी सरकारले सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को अनुसूचीको क्रम सङ्ख्या ३ बमोजिम मानव तस्करी, हुण्डी, भर्चुअल मुद्रा प्रयोग, अनुचित लेनदेन, खेलमा मिलेमतो तथा अनियमितता र अनुमतिपत्र नलिई क्यासिनो सञ्चालनलाई सम्बद्ध कसुर तोक्ने निर्णय गरेको छ । 

    
मन्त्रिपरिषद्ले पूर्वविशिष्ट पदाधिकारीको सुविधासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको छ । बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय वा अन्तर्गतका निकायको स्वीकृत दरबन्दीबाटै जनशक्ति व्यवस्थापन गर्ने गरी पर्सा जिल्लाको पोखरिया, जुम्लाको सिंजा, नराकोट र कपिलवस्तु जिल्लाको बोडगाँउमा मालपोत तथा नापी कार्यालय स्थापना गरी सेवा सञ्चालन गर्न स्वीकृति प्रदान दिने निर्णय गरेको छ । 

मन्त्री गुरुङले सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको जानकारी दिए । यसैगरी सवारी तथा यातायात व्यवस्था (दशौं संशोधन) नियमावली, २०८१ स्वीकृत गर्ने निर्णय भएको छ । रेल सञ्चालन र मर्मत सम्भारको लागि तालिम प्राप्त जनशक्ति, मर्मत सम्भारको कार्य र सोको लागि आवश्यक उपकरण एवं मालसामान सार्वजनिक खरिद ऐन, २०६३ तथा सार्वजनिक खरिद नियमावली, २०६४ बमोजिम सरकार तथा सरकार विधिबाट खरिद गर्न सैद्धान्तिक सहमति प्रदान गर्ने बैठकको निर्णय छ ।