शीर्षकहरू

लगातार तेस्रो कारोबार दिन पनि बढ्यो नेप्से, विकास बैंकका लगानीकर्ताले सर्वाधिक गुमाए

लगातार तेस्रो कारोबार दिन पनि बढ्यो नेप्से, विकास बैंकका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौँ । यो साता चार कारोबार दिनमध्ये तीन दिन नेप्से परिसूचक बढेको छ । सोमबार र मंगलबार बढेको नेप्से बिहीबार झिनो अंकले बढेर बजार बन्द भएको हो ।

आज ४.१९ अंकले बढेर दुई हजार ६३०.७१ अंकमा बजार बन्द भएको छ । यस साता आइतबार १३.५३ अंकले घटेर दुई हजार ५८३.२९ अंकमा बजार बन्द भएकोमा सोमबार २८.९१ अंक र मंगलबार १४.११ अंकले  बढेको थियो ।

क्रिसमसको बिदापछि खुलेको बजारमा बिहीबार सेन्सेटिभ इन्डेक्स २.३०, फ्लट इन्डेक्स ०.२४ र सेन्सेटिभ फ्लट इन्डेक्स ०.७३ अंकले बढेको छ । यद्यपि, आज १३ उपसमूहमा चार उपसमूहको मात्रै शेयर बढेको छ । जसमा बैंकिङ, लगानी, लघुवित्त र व्यापार उपसमूह छन् ।

यस्तै आज कारोबारमा आएका २४२ कम्पनीमध्ये ७० कम्पनीको शेयर बढ्दा १६३ कम्पनीले घाटा बेहोरेका छन् भने ९ कम्पनीको स्थिर छ ।

यसदिन आत्मनिर्भर लघुवित्त र सपोर्ट माइक्रोफाइनान्सको शेयरमा सकारात्मक सर्किट लाग्दा तीन कम्पनीको शेयरमा नकारात्मक सर्किट लागेको छ । बिहीबार कर्पोरेट डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंकको शेयरमा नकारात्मक सर्किट लागेको छ ।

बिहीबार कारोबार रकम पनि बढेको छ । पछिल्ला दिनहरूमा ४ अर्बमा खुम्चिएको कारोबार आज ५ अर्बमाथि उक्लिएको छ । यसदिन ५ अर्ब ३२ करोड ९२ लाख रुपैयाँ बराबरको २ करोड ९ लाख ७८ हजार ९७९ कित्ता शेयर कारोबार भएको छ ।