काठमाडौँ । नेपालमा कालो धनलाई बीमा कम्पनीहरूमार्फत् सेतो बनाउने गरिन्छ भन्ने आरोप नौलो होइन । यद्यपि, उक्त आरोप झूटो भएको दाबी कम्पनीहरूले गरिरहे । बीमा प्राधिकरणले पनि कम्पनीहरूमा कारोबार पारदर्शी भएको वकालत गरिरह्यो ।
बीमा कम्पनीमा कालोधन प्रयोग हुने गरेको शंकामा सरकारले सम्पति शुद्धिकरण ऐनमार्फत् कम्पनीमा हुनसक्ने अनियमिततालाई कडाइ गर्न खोज्यो । तर प्राधिकरणको संरक्षणमा बीमा कम्पनीहरूले कालोधन भित्र्याइरहेको तथा संस्थागत सुशासनको खिल्ली उडाइरहेको भेटिएको छ । जसको एक प्रतिनिधि उदाहरण हो सूर्यज्योति लाइफ इन्स्योरेन्स ।
प्राधिकरणले कम्पनीहरूले ऐन पालना गरे नगरेको विषयमा समय–समयमा अनुगमन पनि गर्दै आएको छ । अनुगमन गरे पनि प्राधिकरणले नै कारवाही गर्नुको साँटो ती विषयहरू ढाकछोप गर्दै आएको छ ।
नियमित अनुगमनका क्रममा प्राधिकरणले हालै सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको केही बीमालेखहरू छनोट गरी छानबिन गरेको थियो । छानबिनमा बीमितको आयस्रोतभन्दा बढीको बीमालेख जारी गरेको, बीमितसँग सम्बन्ध नभएका व्यक्तिको नामबाट बीमाशुल्क प्राप्त भएको, बीमाशुल्कको स्रोत स्पष्ट नभएको, बीमा नियमावलीको उल्लंघन गर्दै कमिसन प्रदान गरेको, कर्मचारी नियमावलीलाई नाघेर कर्मचारी नियुक्त गरेको, सञ्चालक समितिको योग्यता स्पष्ट नभएको, बीमालेख जारी गरेपछि बीमाशुल्क प्राप्त भएको लगायत कैफियत भेटिएको छ । आर्थिकन्यूज डटकमलाई प्राप्त कागजातअनुसार कम्पनीले एउटा एजेन्टको नाममा काटिएको पोलिसीको कमिसन अर्को एजेन्टको नाममा जम्मा गरेको भेटिएको छ । कमिसनका लागि मात्रै पोलिसी काटिएको लगायतका कैफियत कम्पनीमा भेटिएको छ ।
आम्दानी स्रोतभन्दा बढीको पोलिसी जारी
ज्योति लाइफ इन्स्योरेन्सले बीमितको आम्दानीको स्रोतभन्दा बढी रकमको बीमालेख जारी गरेको पाइएको छ । प्राधिकरणले गरेको अनुगमनमा १०३०००००३९७ बीमालेख नम्बरको बीमांक रकम १५ लाख १९ हजार रहेको छ । वार्षिक बीमांक रकम १४ लाख ९९ हजार ९३७ रुपैयाँ रहेको छ । तर, बीमितले पेश गरेको आय विवरणमा वार्षिक १ लाख २५ हजार मात्रै रहेको । सो आम्दानी बीमाशुल्क तिर्नका लागि पर्याप्त होइन । यद्यपि, कम्पनीले पोलिसी जारी गरेको छ ।
त्यस्तै, २५ लाख रुपैयाँ बीमांक भएको वार्षिक ६ लाख २० हजार ३०० बीमाशुल्क भुक्तानी गर्नुपर्ने १०९००००४३६ नम्बरको बीमालेख, बीमांक रकम ५० लाख वार्षिक बीमाशुल्क ४४ लाख ३६ हजार २५० रहेको बीमालेख नम्बर ७६१०००००४८४, २० लाख रुपैयाँको बीमांक रकम, वार्षिक बीमाशुल्क २२ लाख २८ हजार १८० बीमाशुल्क भुक्तानी भएको ७५१०००००२११ नम्बरको बीमालेख आम्दानीको स्रोत खुल्ने विश्वसनीय कागजातहरू नपाइएको छ । त्यस्तै, बीमालेख नम्बर ७६१०००००३२५, ५१२०००००२७६, ५१२०००००२७७, ८१३००००००५७ नम्बरको बीमालेख पनि आम्दानीको स्रोत खुल्न यकिन आधार नभएको अनुगमनमा देखिएको छ ।
बीमालेख जारी गर्दा बीमकले अनिवार्य रुपमा वित्तीय जोखिमांकन गर्नुपर्ने हुन्छ । वित्तीय जोखिमांकन गर्दा बीमितले बीमा अवधिभर आफ्ना अन्य खर्चहरू बेहोरेपश्चात बीमाशुल्क रकम भुक्तानी गर्नसक्ने क्षमताको मूल्यांकन गर्नुपर्ने हुन्छ । अन्य कागजातभन्दा बीमितको आयकर जम्मा गरिएको प्रमाण लिँदा आयस्रोत बढी विश्वसनीय हुने र वित्तीय जोखिमांकन बढी प्रभावकारी हुने देखिन्छ । तर, कम्पनीले जारी गरेको बीमालेखमा आयस्रोत सुनश्चितताको कागजपत्र नभेटिएको अनुगमनमा देखिएको छ ।
त्यस्तै, कम्पनीले बीमालेख नम्बर ११२००००७९४ तीन लाख ६ हजार, ८६६०००००२७२ बीमाशुल्क ३३ हजार ७६६ बीमाशुल्कको बीमालेख जारी भएको एक दिन ढिलो गरी बीमाशुल्क भुक्तानी भएको पाइएको छ ।
बीमा ऐन २०७९ को दफा ६४ बीमकले पुरा बीमाशुल्क नलिई बमिालेख जारी गर्न पाइँदैन । साथै बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५ को दफा ५५ मा बीमकले पूरा बीमाशुल्क नलिइ बीमालेख जारी गर्न नहुने व्यवस्था छ । जुन कम्पनीले पालना गरेको छैन ।
अज्ञात स्रोतबाट बीमाशुल्क भुक्तानी
सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अज्ञात स्रोतबाट बीमाशुल्क प्राप्त गरी बीमालेख जारी गरेको पाइएको छ ।
१५ लाख रुपैयाँ बराबरको बीमांक रकम भएको ११२०००००५५४ नम्बरको बीमालेखको प्राप्त एक लाख २१ हजार ७५० बीमाशुल्कको अज्ञात स्रोतबाट प्राप्त भएको पाइएको छ । २० लाख बीमांक रकम बराबरको ७११०००००५२५ नम्बरको बीमालेखको प्राप्त चार लाख ५९ हजार ७२० मध्ये २ लाख ६९ हजार बीमितबाट भुक्तानी नभइ अन्य व्यक्तिबाट जम्मा भएको पाइएको छ ।
२० लाख बीमांक रकम भएको बीमालेख ७०८०००००४०८ को प्राप्त ९ लाख ३२ हजार बीमाशुल्कको बीमित वा बीमितसँग सम्बन्धित व्यक्तिबाट बीमाशुल्क प्राप्त भएको यकिन गर्न सकिने पर्याप्त आधार नभएको तथा बीमाशुल्क अभिकर्ताको कमिसनबाट मिलान गरेको पाइएको छ ।
बीमालेख ८२४०००००६६५ बीमांक रकम ५ लाख रुपैयाँ बीमाशुल्क २७ हजार ७५५ बीमाशुल्क प्राप्त गर्दा बीमाशुल्क जम्मा गर्ने व्यक्ति कमला घिमिरेको बीमितसँग कुनै सम्बन्ध नरहेको पाइएको छ ।
बीमालेख ७११०००००४०७ बीमांक रकम २५ लाख बीमाशुल्क एक लाख २८ हजार ६२५ बीमाशुल्क प्राप्त गर्दा बीमाशुल्क जम्मा गर्ने व्यक्ति शुभद्रा तिमिल्सनाको बीमितसँग कुनै सम्बन्ध नरहेको पाइएको छ ।
बीमालेख ८२७०००००७३१ बीमांक रकम ४६ लाख ३१ हजार रुपैयाँमध्ये जम्मा बीमाशुल्क तीन लाख ५० हजार रहेकोमा ७३ हजार राजकुमार गर्तौलाको नामबाट जम्मा भएको सो व्यक्तिको बीमितसँग कुनै सम्बन्ध नरहेको पाइएको छ । साथै ९९ हजार कसले जम्मा गरेको भन्ने नै यकिन नभएको भेटिएको छ ।
सम्पति शुद्धिकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी निर्देशन २०७५ को दफा ४(४) अनुसार बीमित र अभिकर्ताबाहेक अन्य कुनै व्यक्तिले बीमितको नाममा नेपालस्थित कार्यालयमा एक लाख रुपैयाँभन्दा बढी बीमाशुल्क वा अन्य नगद रकम जम्मा गर्न पाइएको छैन । यदि भुक्तानी हुनआएमा जम्मा गर्न आउने व्यक्तिको नाम, थर, सम्पर्क नम्बर वा ठेगाना र ग्राहसँगको सम्बन्ध खुलाउने विवरण लिनुपर्नेछ । तर, कम्पनीले ऐन पालना नगरेको पाइएको छ ।
ऐनविपरीत एक लाखभन्दा बढीको नगद कारोबार
कम्पनीले ऐनविपरीत एक लाख रुपैयाँभन्दा बढीको नगद नै कारोबार गरेको भेटिएको छ । प्राधिकरणले गरेको अनुगमनमा यस्तो भेटिएको हो ।
बीमालेख २०६०००००२२४ नम्बरको बीमांक रकम १५ लाख रुपैयाँ रहेको बीमालेख बापतको एक लाख ६ हजार ६८० रुपैयाँ नगद नै कम्पनीले कारोबार गरेको पाइएको छ । त्यस्तै बीमालेख २०६०००००२३५ को बीमांक रकम पाँच लाख रुपैयाँ बापत प्राप्त एक लाख ३ हजार ९३४ रुपैयाँ बीमाशुल्क पनि नगद नै कारोबार गरेको पाइएको छ ।
बीमालेख २०६०००००२३७ बीमांक रकम ५ लाखबापत प्राप्त एक लाख ४ हजार ८६० रुपैयाँ बीमाशुल्क, बीमालेख २०६०००००२१९ बीमांक रकम तीन लाख ५ हजार बापतको प्राप्त तीन लाख १ हजार ४३८ रुपैयाँ बीमाशुल्क नगद नै कारोबार गरेको भेटिएको छ ।
बीमकले बीमालेखहरू एक लाखभन्दा बढीको बीमाशुल्क नगदमा कारोबार गरेको तथा बीमाशुल्क बीमितसँग सम्बन्धित नभइ अन्य व्यक्तिले जम्मा गरेको पाइयो ।
सम्पति शुद्धिकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी निर्देशन २०७५ को दफा १८(१) मा बीमकले एक लाख रुपैयाँ वा सोभन्दा बढीको बीमाशुल्क स्वीकार गर्दा, बैंक, वित्तीय संस्था वा बैंकिङग उपकरण वा पस (पोइन्ट अफ सेल) मेशिन मार्फत भुक्तानी लिनुपर्ने व्यवस्था छ । तर, कम्पनीले ऐनविपरीत नगद कारोबार गरेको पाइएको छ ।
कम्पनीले बीमालेख नम्बर ५०२०२२६, ७०४००१०८, ७११००१४७, ५०८००००४ पोलिसी जारी गर्दा बीमा नियमावली २०४९ को प्रवाधान भन्दा बढी कमिसन दिइएको पाइएको छ ।
बीमा दाबी भुक्तानीमा पनि समस्यै समस्या
बीमकको २०८१ असार मसान्तसम्म दाबीवापत भुक्तानी हुन बाँकी रकम रु १० करोड १९ लाख रहेको पाइएको छ । केही बीमालेखहरूमा बीमितबाट दाबीसम्बन्धी प्राप्त निवेदन ढिलो गरी दर्ता गरेको देखिन्छ । केही बीमालेखहरूमा बीमितसँग थप कागजात माग गर्दा बीमितले पत्र प्राप्त गरेको यकिन गर्न सकिने कागजात दाबी विभागमा नभएको पाइएको छ । केही बीमालेखहरूमा बीमकले दाबी भुक्तानीसम्बन्धी कागजात माग गरी लामो समयसम्म ताकेता नगरी बसेको पाइएको छ ।
त्यस्तै, बीमकद्वारा ४ असोज २०८१ मा भौचर नं. ६१ बाट प्रदान गरिएको दुई लाख ४९ हजार ४३८ रुपैयाँ कमिसनको भुक्तानी गर्दा अभिकर्ता सृजना पन्तको कमिसन अर्कै व्यक्तिलाई भुक्तानी भएको पाइएको छ । ५ भदौ २०८१ मा भौचर नं. २८ बाट प्रदान गरिएको तीन लाख ४० हजार ९५३ कमिसनको भुक्तानी गर्दा अभिकर्ता सृजना पन्तको कमिसन अर्कै व्यक्तीलाई भुक्तानी भएको छ ।
यस विषमा आर्थिकन्यूज डटकमले कम्पनीका सूचना अधिकारीसँग सम्पर्क गर्दा उनले उल्लेखित अनियमितता अस्वीकार गरे । प्राधिकरणले जारी गरेको ऐन नियम पूर्णरूपमा पालना गरेको दाबी उनको छ ।
कम्पनीले बीमालेख जारी गर्नुपूर्व बीमितको आयस्रोत हेर्ने, एक लाखभन्दा बढीको नगद कारोबार नगर्ने र कालो धन प्रयोग भएको पाइएमा त्यसको सूचना प्राधिकरण दिने गरेको जिकिर गर्दै उनले भने, ‘यो विषय हेर्नका लागि कम्पनीमा फरक-फरक शाखा छन् । सबै शाखाले आफ्नो काम नियमित रुपमा गरेका छन् ।'
सूर्यज्योति इन्स्योरेन्सको अनियमितताबारे बुझ्न खोज्दा प्राधिकरणकी सहायक प्रवक्ता पुनम ज्ञवालीले कम्पनीले ऐन विपरीत काम गरेमा प्राधिकरणले कारवाही गर्ने बताइन् । यद्यपि, सूर्यज्योतिको बारेमा भने आफूलाई जानकारी नभएको उनको भनाइ छ ।
'प्राधिकरणले अहिले नियमित र आपतकालिन रूपमा कम्पनीहरूको अनुगमन गर्दै आएको छ । नियमित रूपमा तीन दिन लाइफ र तीन दिन ननलाइफ इन्स्योरेन्स कम्पनीको अनुगमन गर्दे आएको छ,' उनले भनिन्, 'कम्पनीको विषयमा कुने उजुरी परेमा वा कुनै विभागले समस्या देखाएमा पनि अनुगमन गर्दै आएका छौँ । अनुगमन टोलीले प्राधिकरणलाई प्रतिवेदन बुझाउँछ । प्रतिवेदन प्राधिकरणको उच्च व्यवस्थापनले हेर्छ । र अन्तिम निर्णय प्राधिकरणको बोर्डले गर्छ ।'
बीमा ऐनबमोजिम कम्पनीहरूमा कैफियत देखिएमा कम्पनीको व्यवस्थापन र बोर्डलाई बोलाएर छलफल गरिन्छ । कैफियत भएका कामलाई सुधार गर्न भनिन्छ । त्यसपछि पनि सुधार नगरेमा कारवाही हुन्छ । प्राधिकरणले कम्पनीहरूलाई कारवाही स्वरूप जरिवाना समेत गर्ने गरेको उनले बताइन् ।