काठमाडौं । पुस मसान्त नजिकिदैं जाँदा सूचीकृत कम्पनीहरुलाई वार्षिक साधारण सभा सम्पन्न गरिसक्नुपर्ने चटारो छ । यसै क्रममा लाभांश र वार्षिक साधारण सभा प्रयोजनका लागि हरेक दिन कम्पनीहरुले बुक क्लोजको मिति तय गरिरेका छन् । बुक क्लोजको आधारमा अघिल्लो कारोबार दिनसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।
बिहीवार साताको अन्तिम कारोबार दिन एक वाणिज्य सहित चार कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम मौका रहेको छ । सिद्धार्थ बैंक , हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, सर्वोत्तम सिमेन्ट, र ग्रिन भेन्चर्सको लाभांश सुरक्षित गर्ने अन्तिम मौका हो ।
यी कम्पनीहरुले लाभांश सहित अन्य विविध प्रस्ताव पारितका लागि वार्षिक साधारण सभाको मिति तय गरिसकेका छन् । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी अर्थात एचआईडिसिएल र सर्वोत्तम सिमेन्टले पुस १२ गते र सिद्धार्थ बैंक र ग्रिन भेन्चर्सले पुस १४ गते बुकक्लोज गर्ने भएका छन् । यस आधारमा अघिल्लो कारोबार दिन पुस ११ गतेसम्म कायम सम्बन्धित कम्पनीका शेयरधनीहरु लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य हुनेछन् ।
सिद्धार्थ बैंकले यस वर्ष ४ प्रतिशत कर समेत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले पुस २८ गते आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा विहान १० बजे २३ औँ वार्षिक साधारण सभा बोलाएको छ । त्यस्तै हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले गत वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको आधारमा ५ दशमलव २५ प्रतिशतका दरले कर समेत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ भने उक्त प्रस्ताव पारितका लागि पुस २४ गते १३औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको तेह्रौँ वार्षिक साधारण सभा कार्की ब्याङ्केट, बबरमहलमा बिहान १० बजे शुरु हुनेछ ।
सर्वोत्तम सिमेन्टले गत वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको आधारमा ७ प्रतिशत बोनस शेयर र ३ प्रतिशत कर समेत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यस कम्पनील पुस २६ गते होटल भिलासा, भैरहवा, रुपन्देहीमा छैठौँ वार्षिक विहान ११ बजे बोलाएको छ । ग्रीन भेन्चर्सले भने १० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले पुस २८ गते रानी महल ब्याङक्वेट, ज्ञानेश्वर काठमाडौंमा छैटौंँ वार्षिक साधारण सभा विहान ११ बजे बोलाएको छ ।