शीर्षकहरू

वाणिज्य बैंकमा बढ्दै गैरबैंकिङ सम्पत्ति : शीर्षमा ग्लोबल आईएमई, दोस्रोमा एनआईशी

वाणिज्य बैंकमा बढ्दै गैरबैंकिङ सम्पत्ति : शीर्षमा ग्लोबल आईएमई, दोस्रोमा एनआईशी

काठमाडौं  । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चार महिनाको अवधिमा वाणिज्य बैंकहरूको गैरबैंकिङ सम्पत्ति ३२ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । यस अवधिमा बैंकहरूको गैरबैंकिङ सम्पत्ति २ अर्ब १६ करोड रुपैयाँले वृद्धि भएको हो । गत असार मसान्तसम्म वाणिज्य बैंकहरूको गैरबैंकिङ सम्पत्ति ३० अर्ब १७ करोड रुपैयाँ थियो । गैरबैकिङ सम्पत्ति वृद्धि हुनु आफैमा सकरात्मक भने हैन । यस्तो सम्पत्ति वृद्धि हुनुले बैंकहरूमा कर्जा असुलीमा कठिनाइ भएको संकेत गर्छ । 

गैरबैंकिङ सम्पत्ति भनेको बैंकले धितो राखी दिएको कर्जा संकलन हुन नसकेपछि बैंकले सकारेको सम्पत्ति हो । त्यस्तै, बजार मूल्य घटेको, बिक्री गर्न नसकिएका वा अन्य कारणले बैंकको तर्फबाट सञ्चालन गर्न नसकिएका सम्पत्ति बैंकका गैरबैंकिङ सम्पत्तिका रूपमा गणना गरिन्छ । यसरी घटेका वा बिक्री गर्न नसकेका सम्पत्तिहरू बैंकको वित्तीय स्थिति र जोखिम व्यवस्थापनमा महत्वपूर्ण प्रभाव पार्छन् ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार, कात्तिक मसान्तसम्म विभिन्न वाणिज्य बैंकहरूको गैरबैंकिङ सम्पत्ति उल्लेखनीय रूपमा वृद्धि भएको छ । तथ्यांकअनुसार ग्लोबल आईएमई बैंकको सबैभन्दा धेरै गैरबैंकिङ सम्पत्ति ५ अर्ब १३ करोड १३ लाख रुपैयाँ पुगेको छ । दोस्रो स्थानमा एनआईसी एशिया बैंकको ४ अर्ब २२ करोड ६० लाख रुपैयाँ गैरबैंकिङ सम्पत्ति पुगेको छ ।

यस्तै, हिमालयन बैंकको यस्तो सम्पत्ति ३ अर्ब ६३ करोड पुगेको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३ अर्ब ३ करोड, कुमारी बैंकको २ अर्ब ६६ करोड, र नबिल बैंकको २ अर्ब ६४ करोड रुपैयाँ गैरबैंकिङ सम्पत्ति पुगेको छ । यसका अतिरिक्त, प्राइम कमर्शियल बैंकको १ अर्ब ६९ करोड, लक्ष्मी बैंकको १ अर्ब ५९ करोड, प्रभु बैंकको १ अर्ब ५ करोड, माछापुच्छ्रे बैंकको १ अर्ब ३ करोड, एनएमबि बैंकको १ अर्ब २ करोड, कृषि विकास बैंकको ९८ करोड ३३ लाख, सिटिजन बैंकको ८० करोड ९९ लाख, र सानिमा बैंकको ७० करोड ८५ लाख रुपैयाँ बराबरको गैरबैंकिङ सम्पत्ति पुगेको तथ्यांकले देखाएको छ । 

नेपाल राष्ट्र बैंकको तथ्यांकले सिद्धार्थ बैंकको ७० करोड ३८ लाख रुपैयाँ गैरबैकिङ सम्पत्ति पुगेको देखाएको छ । एभरेस्ट बैंकको ५१ करोड १२ लाख, नेपाल एसबीआई बैंकको ३५ करोड २९ लाख, राष्ट्रिय वाणिज्य बैंकको २९ करोड ७६ लाख, र नेपाल बैंकको २० करोड ४१ लाख रुपैयाँ गैरबैंकिङ सम्पत्ति पुगेको छ । 

गैरबैंकिङ सम्पत्तीको वृद्धिले बैंकको लागि जोखिम व्यवस्थापनको चुनौती पनि थपिनु हो । यस्तो सम्पत्ति बिक्री गर्न वा प्रयोग गर्न कठिनाइ हुँदा बैंकहरूको तरलता र वित्तीय स्थिति प्रभावित हुन सक्छ । यसलाई सुधार गर्नका लागि बैंकहरूले अधिक जोखिम व्यवस्थापन रणनीतिहरू अपनाउनुपर्ने आवश्यकता छ । वाणिज्य बैंकहरूको गैरबैंकिङ सम्पत्तिमा भइरहेको वृद्धि, बैंकहरूको वित्तीय व्यवस्थापन र सम्पत्ति व्यवस्थापनमा भएका चुनौतीहरूको सूचक पनि हो । 

बैंक र गैरबैंकिङ सम्पत्ति

null