काठमाडौं । नेपाल राष्ट्र बैंकले खुला बजार कारोबारसम्बन्धी कार्यविधिमा सातौं संशोधन गरेको छ । कार्यविधि संशोधन गर्दै बैंकले स्थायी निक्षेप सुविधा लिनका लागि बैंकहरुले स्वदेशी मुद्राको बचत र मुद्दति निक्षेपमा प्रदान गर्न प्रकाशित न्यूनतम ब्याजदर स्थायी निक्षेप सुविधाको ब्याजदरभन्दा कम नभएको हुनुपर्ने व्यवस्था गरेको छ ।
यसअघि बचत खाता मात्र रहेकोमा मुद्दति निक्षेप समेत थप गरिएको छ । बैंकहरुले मुद्दति निक्षेपमा दिने ब्याजदर बचतको भन्दा कम नहोस् भनेर यस्तो व्यवस्था गरिएको हो ।
बैंकहरुले बचत र मुद्दति निक्षेपमा दिने न्यूनतम ब्याजदर ३ प्रतिशतसम्म वा कम भएमा स्थायी निक्षेप सुविधा पाउँदैनन् । बैंकले करिडोरको तल्लो सीमा अनुसारको ब्याजदर बैंकहरुलाई दिने भएकालेनिक्षेपकर्तालाई सो भन्दा कम ब्याज नदिउन भन्नका लागि पनि यस्तो व्यवस्था गरिएको हो । राष्ट्र बैंकले स्थायी निक्षेप सुविधामा ३ प्रतिशत ब्याज दिने गरेको छ ।
यस्तै स्थायी निक्षेप सुविधाको रकम जम्मा र भुक्तानीसम्बन्धी व्यवस्थाका विषयमा संशोधन गरेको छ । स्थायी निक्षेप सुविधा उपयोग गर्नका लागि रीतपूर्वकको निवेदन पेश गरेका काउण्टर पार्टीको नाममा सोही दिन राष्ट्र बैंकमा निक्षेप रकम जम्मा गर्न सकिनेछ ।
काउण्टरपार्टीबाट माग भइ आएमा उक्त जम्मा गरिएको निक्षेपवापत स्थायी निक्षेप सुविधाको प्रमाणपत्र प्रदान गरिने व्यवस्था थप गरेको छ । स्थायी निक्षेप सुविधामा जम्मा रकमलाई अनिवार्य नगद मौज्दातमा गणना गर्न पाइने छैन ।
तर, राष्ट्र बैंकको निर्देशन बमोजिम कायम राख्नु पर्ने वैधानिक तरलता अनुपात र खुद तरल सम्पत्ति अनुपातमा गणना गर्न पाइने व्यवस्था छ । खुला बजार कारोबारसम्बन्धी कार्यविधिमा निक्षेप संकलन उपकरण, रिपो बोलकबोल, रिभर्स रिपो बोलकबोल, सोझै खरिद, सोझै बिक्री, दीर्घकालीन निक्षेप संकलन उपकरण, दीर्घकालीन रिपो बोलकबोल, दीर्घकालीन रिभर्स रिपो बोलकबोल, नेपाल राष्ट्र बैंक ऋणपत्र, ब्याजदर करिडोर, स्थायी निक्षेप सुविधा, ओभरनाइट रिपो, स्थायी तरलता, उपकरण निष्काशन लगायतबारे व्यवस्था गरिएको छ ।
खुला बजार कारोबारसम्बन्धी कार्यविधिमा हप्तामा ३ पटक स्थायी निक्षेप सुविधा (एसडीएफ) अन्तर्गत निक्षेप राख्न सक्ने व्यवस्था रहेको छ । आइतबार, मंगलबार र बिहीबार गरी हप्तामा ३ पटक यस्तो सुविधा प्रदान गर्दै आएको छ । उक्त दिन सार्वजनिक बिदा भएमा त्यसपछि कार्यालय खुलेको दिन यस्तो सुविधा दिँदै आएको छ । एसडीएफअन्तर्गत राखिने निक्षेपको न्यूनतम सीमा १० करोड रुपैयाँ रहेको छ ।
अधिकतम् सीमा भने ५ करोडले भाग गर्दा निःशेष भाग गर्दा जाने अंक बराबरको रकम राख्न सकिने छ । यस अन्तर्गत बैंकहरुले निक्षेप प्रस्ताव गर्दा राष्ट्र बैंकले अस्वीकार गर्न पाउदैन । तोकिएको शर्त पूरा भएमा राष्ट्र बैंकले अनिवार्य रुपमा त्यस्तो प्रस्ताव स्वीकार गर्नुपर्छ । एसडीएफमा राष्ट्र बैंकले ३ प्रतिशत ब्याज दिने गरेको छ ।
ब्याजदर करिडोरको माथिल्लो सीमाको रुपमा बैंकदरलाई लिइएको छ र स्थायी तरलता सुविधा बैंकदरमा उपलब्ध गराइने कार्यविधिमा छ । ओभरनाईट रिपो नीतिगत दरमा उपलव्ध गराइनेछ । ब्याजदर करिडोरको तल्लो सीमाको रुपमा स्थायी निक्षेप सुविधालाई लिइएको छ । ब्याजदर करिडोरको तल्लो सीमाको ब्याजदरमा निक्षेप संकलन बोलकबोल समेत गर्न सकिने छ । ब्याजदर करिडोरका उपकरणको ब्याजदर मौद्रिक नीतिले तोकेबमोजिम हुने कार्यविधीमा व्यवस्था छ ।
बैंकिङ क्षेत्रको तरलता व्यवस्थापन गर्ने उद्देश्यले सरकारी ऋणपत्र र नेपाल राष्ट्र बैंकले जारी गर्ने ऋणपत्र बोलकबोल प्रक्रियाद्वारा खरिद–बिक्री गर्ने अथवा ऋणपत्रको धितोमा वा विनाधितोमा तरलता प्रवाह र प्रशोचन गर्ने कार्यलाई खुला बजार कारोबार भनिन्छ ।
बजारमा तरलता व्यवस्थापन गर्ने र ब्याजदरलाई उपयुक्त स्तरमा राख्ने उद्देश्यका साथ केन्द्रीय बैंकले विशेषगरी अल्पकालीन अवधिका सरकारी ऋणपत्रहरु खुला बजारमा खरिद–बिक्री वा धितो राखी तरलता प्रवाह–प्रशोचन गर्ने कार्यलाई खुला बजार कारोबार भनिन्छ ।