काठमाडौं । कवाड व्यवसायी संघर्ष समितिले काठमाडौं महानगरपालिका घेराउ गर्ने भएको छ । काठमाडौं महानगरपालिकाले व्यवसायबाट विस्तापित गराउन खोजेको दुःख दिएको भन्दै कवाड व्यवसायीहरुले आगामी पुस १४ गते महानगरको कार्यालय घेर्ने बताएका हुन् ।
बुधबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै कवाड व्यवसायी संघर्ष समितिका संयोजक राम केवल गुप्ताले अब आफूहरु काठमाडौं महानगरविरुद्ध लड्न, भिड्न तयार भएर आन्दोलनमा जान लागेको बताए । उनले काठमाडौंका मेयर बालेन शाहलाई रावणको संज्ञा दिए ।
‘लड्न, भिड्न र हामी लङ्का दहन गर्नलाई, अब लङ्काको रावणलाई आक्रमण गर्नलाई हामी आउँदो १४ गते काठमाडौं महानगरपालिका कमलादी घेर्ने छौं । काठमाडौं महानगरपालिकाको मेयर बालेन शाहले रावण बनेर हामीलाई व्यवहार गर्नुभयो । अब हामी राम बनेर हमला गर्ने छौं, लङ्का दहन गर्नेछौं,’– उनले भने ।
साथै, काठमाडौं महानगर प्रहरीहरुले कवाड व्यवासायीलाई दुःख दिएको, हातपात गरेको, कुटपिट गरेको र गाली बेइनजती गरेको उनले बताए । कवाड व्यवासायीहरुले अब महानगर प्रमुख बालेन र नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेविरुद्ध प्रहरीमा उजुरी दिनेपनि बताए ।
अदाललते कवाड नहटाउन आदेश दिएपनि महानगरले त्यसको विपरीत काम गरिरहेको उनले बताए । काठमाडौं महानगरपालिका प्रमुख शाह धेरै सन्किएको र बहुलाइसकेको टिप्पणी गर्दै उनले अब जेल कोच्नुपर्ने बताए । बालेन देश र महानगरको लागि खतराको रुपमा देखिएको उनको टिप्पणी छ ।