काठमाडौँ । जमिन मुनिबाट सुन निकालिदिन्छु भनी दुई करोड ठग्ने एक जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । भारतको उत्तर प्रदेश, बलरामपुर सिहपुरी बस्ने ४२ वर्षीय सदाबुद्दिन हलवाई गत शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ बसपार्कबाट पक्राउ गरी बाँके जिल्ला अदालतबा ४ म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
उनले बाँकेको मोहनपुर ईट्टाभट्टानजिकै बस्ने नसिर अहमद बेहेनालाई जमिनमुनिबाट सुन निकालिदिन्छु भनी पटक पटक गरेर २ करोड रुपैयाँ ठगी गरेका हुन् । गत मंसिर १५ गते बेहेनाले दिएको जाहेरीका आधारमा प्रहरीले हलवाईलाई नियन्त्रणमा लिएको हो ।
उनको साथबाट तीन वटा माटोको घैटो, सो घैँटोभित्र पहेँलो धातुले बनेको सिक्का थान एक हजार थान, तीन वटा पितलको घैँटो, हेर्दा पुरानो जस्तो देखिने धातुले बनेको चेन एक थान, धातुले बनेको गणेशको मूर्ति एक थान, विभिन्न आकारका पत्तरहरु छ सय थान, धातुबाट बनेको डिब्बा तीन थान, लेदरको कालो रंगको झोलाभित्र ताविज सहितको डिब्बा १ थान, भारतीय नम्बर प्लेटको कार र नेपाल र भारतीय बैंकका चेक र भौचरहरु पनि प्रहरीले बराबद गरेको छ ।