शीर्षकहरू

६ पटक लोकसेवा दिएपछि तनावमा थिए मिलन, बुवा र भाइको हत्यापछि गरेका थिए आत्महत्या प्रयास

६ पटक लोकसेवा दिएपछि तनावमा थिए मिलन, बुवा र भाइको हत्यापछि गरेका थिए आत्महत्या प्रयास

भक्तपुर । सूर्यविनायक नगरपालिका–२ बालकोट फिकाधारास्थित भाडाको घरमा कोठाभित्र मृत फेला परेका ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका कान्छा छोरा २२ वर्षीय प्रवीण आचार्यको हत्या कुलप्रसादकै जेठो छोरा मिलनले गरेको पाइएको छ । मंगलबार प्रहरीसामु आत्मसमर्पण गरी मिलनले बुबा र भाइको हत्या आफूले गरेको स्वीकारेका छन् ।  

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ घर भई हाल जिल्ला हुलाक कार्यालय खोटाङमा निमित्त कार्यालय प्रमुख रहेका कुलप्रसाद आचार्य र उनका कान्छा छोरा प्रवीणको गत शनिबार राति हत्या भएको थियो । हत्यापछि फरार रहेका मिलनले आज महाराजगञ्ज प्रहरी वृत्तमा आत्मसमर्पण गरेका थिए ।

अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईका अनुसार पक्राउ परेका मिलनसँग बयान लिने कार्य जारी रहेको छ । उनलाई भक्तपुर प्रहरी परिसर पठाएको उनले बताए । “प्रारम्भिक अनुन्धान र बयान क्रममा बुबा र भाइको हत्या कुलप्रसादकै जेठा छोरा मिलनले नै गरेको पाइएको छ । बुबा र भाइबाट आफूमाथि तनाव बढेकाले हत्या गरेको उनले स्वीकार गरेका छन् । यसबारे थप अनुसन्धान भइरहेको छ”, प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले भने ।

उनकाअनुसार मिलन ६ पटक लोकसेवा आयोगको परीक्षामा असफल भएका थिए । पटक–पटकको असफलतापछि उनी तनावमा रहेको बयान उनले दिएका छन् ।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक माधवप्रसाद बुढाथोकीका अनुसार बुबा र भाइको सिलौटो र लोहोराले हानेर आइतबार राति हत्या गरेपछि आइतबार बिहान कोठामा ताल्चा लगाएर मिलन स्कुटरमा फरार भएका थिए । त्यहाँबाट उनले भक्तपुरको बिरुवामा गएर पासो लगाएर आत्महत्या प्रयास गरेको बुझिएको छ । तर पासो चुँडिएर आत्महत्याको प्रयास असफल भएपछि सार्वजनिक यातायातमा चढेर चाबहिलतिर गएका थिए । बेपत्ता मिलनमाथि नै शंका गरेर प्रहरीले खोजी गरिरहेको बेला मंगलबार बिहान प्रहरीकहाँ आफैँ उपस्थित भएका हुन् ।

जिल्ला प्रहरी परिसर भक्तपुरले आजै उनीमाथि कर्तव्य ज्यानको कसुरमा म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको छ । जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त कार्यालय प्रमुख आचार्य गत मङ्सिर २८ गते बिदा लिएर छोराहरु बस्दै आएको स्थान बालकोट आएका थिए ।