शीर्षकहरू

महुली लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन

महुली लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस ५ गतेदेखि निष्काशन गरेको थप सार्वजनिक निष्काशन (एफपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले सर्वसाधारण समूहतर्फको हिस्सा ३० प्रतिशत कायम गर्न एफपीओ निष्काशन गरेको हो ।

हाल कम्पनीको सर्वसाधारणतर्फको स्वामित्व १९ दशमलव ६८ प्रतिशत रहेको छ । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँबराबरको ४ लाख ७५ हजार ४४९ दशमलव १५ कित्ता एफपीओ निष्काशन गरेकोे हो । धितोपत्र दोस्रो बजारमा सूचीकृत यो कम्पनीको शेयरमूल्य प्रतिकित्ता १ हजार ४०० रुपैयाँभन्दा बढी छ । सर्वसाधारणतर्फको स्वामित्व ३० प्रतिशत कायम गर्नुपर्ने अवस्थामा लगानीकर्ताले प्रतिशेयर १०० रुपैयाँमै कम्पनीको एफपीओ खरीद गर्न पाउने अवसर पाएका हुन् ।

यो एफपीओमा मागभन्दा बढी आवेदन परिसकेकाले छिटो अवधि पुस ९ गतेसम्म मात्र निष्काशन गर्न लागिएको हो ।  एफपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिने व्यवस्था छ।एफपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्तसम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयर अनलाईनबाट पनि आवेदन दिन सकिने व्यवस्था छ ।

हाल कम्पनीमा संस्थापकतर्फ ८० दशमलव ३२ प्रतिशत र सर्वसाधारणतर्फ १९ दशमलव ६८ प्रतिशत शेयर स्वामित्व कायम छ । अधिकृत पूँजी ४० करोड रुपैयाँ रहेको कम्पनीको जारी पूँजी ३६ करोड ९९ लाख २३ हजार ५०० रुपैयाँ छ । हाल कम्पनीको चुक्तापूँजी भने ३२ करोड २३ लाख ७८ हजार रहेको छ । एफपीओ निष्काशन तथा बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी ३६ करोड ९९ लाख २३ हजार ५०० रुपैयाँ कायम हुनेछ । एफपीओपछि कम्पनीमा संस्थापकतर्फ २५ लाख ८९ हजार ४६२ दशमलव ५४ कित्ता र सर्वसाधारणतर्फ ११ लाख ९ हजार ७७२ दशमलव ४६ कित्ता शेयर कायम हुनेछ ।

कम्पनीले सार्वजनिक गरेको अघिल्ला तीन आर्थिक वर्षको वास्तविक वित्तीय विवरण अनुसार निरन्तर सञ्चित नाफामा रहेको देखिन्छ । आर्थिक वर्ष २०७७/७८ मा १५ करोड १० लाख रुपैयाँभन्दा बढी सञ्चित नाफामा रहेको कम्पनी आर्थिक वर्ष २०७८/७९ मा भने १० करोड ७५ लाख रुपैयाँभन्दा बढी सञ्चित नाफामा थियो । आर्थिक वर्ष २०७९/८० मा कम्पनीको सञ्चित नाफा १ करोड ६४ लाख रुपैयाँभन्दा बढीमा खुम्चिएको देखिन्छ ।

गत असार मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनी ९ करोड ४ लाख रुपैयाँभन्दा बढी सञ्चित नाफामा रहेको छ । चालू आर्थिक वर्षभित्र कम्पनीले १७ करोड ६५ लाख रुपैयाँभन्दा बढी सञ्चित नाफा गर्ने प्रक्षेपण गरेको छ ।कम्पनीको पछिल्लो आर्थिक वर्ष ०७९/८० को वास्तविक वित्तीय विवरण अनुसार प्रतिशेयर नेटवर्थ १८७ रुपैयाँ ७५ पैसा र प्रतिशेयर आम्दानी १३ रुपैयाँ ७१ पैसा छ ।

चालू आर्थिक वर्षभित्र कम्पनीको प्रतिशेयर नेटवर्थ २२१ रुपैयाँ ७८ पैसा र प्रतिशेयर आम्दानी २८ रुपैयाँ २८ पैसा कायम गर्ने प्रक्षेपण रहेको छ ।