शीर्षकहरू

चलायमान बन्दै अटो बजार, निजी गाडीसँगै बढ्यो मोटरसाइकल र स्कुटरको आयात

चलायमान बन्दै अटो बजार, निजी गाडीसँगै बढ्यो मोटरसाइकल र स्कुटरको आयात

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ५ महिनामा सवारीसाधन आयात बढेको छ । निजी गाडी आयातमा सरकारले गरेको कडाइ खुकुलो पारेसँगै गाडी आयात बढेको हो ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार यस अवधिमा ६ हजार ७६६ वटा पेसेन्जर भेहिकल (निजी गाडी) आयात भएको छ । जसमा विद्युतीय ४ हजार ६९७ र डिजेल/पेट्रोलबाट चल्ने गाडीको संख्या दुई हजार ६९ रहेको छ ।

यस अवधिमा विद्युतीय सवारीसाधानको आयात बढेको छ । गत आवको यही अवधिमा ३ हजार ६८६ विद्युतीय गाडी भित्रिएका थिए ।

यस वर्ष डिजेल/पेट्रोल गाडीको आयात पनि सामान्य बढेको छ । विभागका अनुसार गत वर्ष साउनदेखि मंसिरसम्म ५ महिनाको अवधिमा दुई हजार ५८ वटा इन्धनबाट चल्ने निजी गाडी आयात भएका थिए ।

यस्तै पछिल्ला दुई वर्षमा दुईपाङ्ग्रे सवारीसाधनको आयात घटेकोमा यस वर्ष मोटरसाइकल र स्कुटरको आयात पनि बढेको छ । विभागका अनुसार चालु आवको पहिलो पाँच महिनामा ९९ हजार २६५ मोटरसाइकल र स्कुटर भित्रिएका छन् ।

जसमा पेट्रोलियम ९३ हजार ९१५ छन् भने विद्युतीय ५ हजार ३५० वटा थिए । गत आवको पहिलो पाँच महिनामा ५९ हजार ७४३ वटा दुई पाङ्ग्रे सवारी भित्रिएका थिए । जसमा पेट्रोलियम ५६ हजार १६२ र विद्युतीय ३ हजार ५८१ रहेका थिए ।