शीर्षकहरू

प्रगति विवरण पेस गर्न खानेपानी मन्त्री यादवद्वारा निर्देशन

प्रगति विवरण पेस गर्न खानेपानी मन्त्री यादवद्वारा निर्देशन

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी मन्त्रालय मातहतका निकायहरुलाई हालसम्मको प्रगति विवरण पेस गर्न निर्देशन दिनुभएको छ । आज मन्त्रालयमा बसेको उच्च व्यवस्थापन समूह (एसएमटी)को बैठकमा मन्त्री यादवले खानेपानीका क्षेत्रमा हालसम्म भएका कामका प्रगति विवरण पेस गर्न निर्देशन दिनुभएको हो । “के कति प्रगति भएका छन् ? कति काम सम्पन्न हुन बाँकी छन्, लिखित रुपमा प्रतिवेदन पेस गर्नुहोला । त्यसैका आधारमा अन्य काम अगाडि बढाउन थप सहज होस”, उहाँले भन्नुभयो ।

मन्त्री यादवले मन्त्रालय मातहतका निकायद्वारा सञ्चालित कतिपय आयोजना समयमा सम्पन्न नभएकाले त्यसको कारण पेस गर्न समेत निर्देशन दिनुभयो । मातहतका निकायले सञ्चालन गरिरहेका कामबारे नियमित जानकारी लिन प्रत्येक महिना एसएमटीको बैठक राख्नसमेत उहाँले निर्देशन दिनुभएको छ ।

बैठकमा मन्त्रालयका सचिव ई प्रमीलादेवी शाक्य बज्राचार्यसहित खानेपानी तथा ढल व्यवस्थापन विभाग, काठमाडौँ उपत्यका खानेपानी आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी), काठमाडौँ खानेपानी उपत्यका लिमिटेड (केयुकेएल), मेलम्ची खानेपानी विकास समिति, खानेपानी संस्थान, सहलगानी बोर्डका प्रमुख एवं पदाधिकारीहरुले आफ्नो कार्यालयका कामबारे जानकारी गराउनुभएको थियो ।