काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । पुस ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको हो ।
हाल कम्पनीको चुक्तापूँजी ६० करोड रुपैयाँ रहेको छ । सोही पूँजी बराबरको ६० लाख कित्ता हकप्रद शेयर निष्काशन गर्ने निर्णय कम्पनीले गरेको हो । प्रस्तावित हकप्रद शेयर निष्काशनसँगै अन्य विविध प्रस्ताव पारितका लागि कम्पनीले पुस २९ गते दशौं वार्षिक साधारण सभा बोलाएको छ । बद्रीनाथ होटल गौशाला, काठमाडौंमा विहान ११ः३० बजे सभा गर्ने निर्णय कम्पनीले गरेको हो ।
सभाले हकप्रद शेयर निष्काशनपछि पूँजी बृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु परित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १५ गते एक दिन बुक क्लोज गर्न लागेको छ ।
बुक क्लोजको आधारमा पुस १४ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन योग्य हुनेछन् । कम्पनीले बैंकको ऋण तिर्न, होटल निर्माण तथा ईन्भेष्टमेन्ट कम्पनीमा लगानी गर्न हकप्रद शेयर मार्फत पूँजी जुटाउन लागेको हो ।